आखिर उच्च अदालत मै पुगे सरकारी वकिल
काठमाडौं । कालोबजारी र ठगी अभियोगमा १० वर्ष कैद र ९ करोडभन्दा बढी बिगो दावीसहित दायर मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले सामान्य धरौटीमा छाडेको भन्दै उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेशविरुद्ध १७ नम्बर निवेदन (जिल्लाले धरौटीमा छाडेकालाई थुनामा पठाउन मागसहित) दर्ता गराएको छ ।
बिहीबार उच्च अदालत पाटनमा दायर भएको निवेदनमा जिल्ला अदालतले दुगड ग्रुपका सञ्चालकहरूलाई छाड्ने नियतका साथ कानूनको अनदेखा गरी धरौटीमा छाडेकाले सो आदेश बदर गरी सबै अभियुक्तलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन माग गरिएको छ ।
सरकारी वकिलको कार्यालयले दुगडका सञ्चालकहरू किसनलाल दुगड, नरेश दुगड, कुमुदकुमार दुगड र विकास दुगड, चन्द्रिकाप्रसाद कुशवाह र लेखापाल रमाकान्त पारिक, धर्मचन्द्र दुगड, गौतम दुगड, प्रदीपकुमार छाजेणलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश माग गरेको हो ।
जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेशमा कानूनी त्रुटी गरी दुगडका सञ्चालकलाई उन्मुुक्ति दिएको सरकारी वलिकले दायर गरेको निवेदनमा उल्लेख छ ।
फौजदारी मुद्दामा तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुनसक्ने अपराधको अभियुक्तलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएमा वा कसुरदार हो भन्ने विश्वसनीय र मनासिव आधार भएका अन्यथा प्रमाणित नभएसम्म थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने अनिवार्य कानुनी प्रावधानलाई अनदेखा गर्दै जिल्ला न्यायाधीशले सञ्चालहरूलाई धरौटीमा छाडेको आदेश नमिलेकाले बदर हुनुपर्ने निवेदनमा माग गरिएको छ ।
निवेदनमा पक्राउ परेका र थुनछेकमा उपस्थित भएका अभियुक्तले बढी मूल्यमा बेचेको र बजारमा अभाव सिर्जना गरेको स्वीकार गरेकाले तत्काल प्राप्त प्रमाणले निर्देशन भन्न नमिल्ने आदेशमै उल्लेख गरेर अन्ततः थुनामा पठाउनुपर्ने अभियुक्तलाई धरौटीमा छाडेको कार्य मा कानुनी त्रुटी रहेको सरकारी वकिलको जिकिर छ ।
जिकिरमा निवेदकले १० वर्षसम्म कैद माग गरेको र अदालतले निर्देश भन्न नमिल्ने भनेको अवस्थामा कसरी धरौटीमा छाडियो भन्ने गम्भीर प्रश्न खडा भएको उल्लेख छ ।
दुगडका ११ जना सञ्चालक र कर्मचारीविरुद्ध दायर सो निवेदनमा शुक्रबार (आज) थुनछेक बहस (थुनामा पठाउने कि धरौटी या साधारण तारेखमा छाड्ने भन्ने आदेशका लागि सुनुवाइ) का लागि पेसी तोकिएको उच्च अदालत पाटनले जनाएको छ । (राजधानी दैनिक)