दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट एक अर्ब एक करोड
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
237
Shares
काठमाडौँ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानले लगाएको बाली बाँदरले क्षति पुर्याउन थालेपछि नियन्त्रण तथा न्यूनीकरणका लागि बजेट छुट्याएको छ ।
नगरपालिकाले १५औँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बाली हेरालु राख्ने कार्यक्रमसहित वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण गर्ने उद्देश्यले ४५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
नगर उपप्रमुख बिसन राईले आगामी वर्षका लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनका अनुसार बाँदरलगायतका वन्यजन्तुले किसानको अन्नबाली नष्ट गर्न थालेपछि त्यसको रोकथामका लागि बाली हेरालु परिचालन गर्ने नीति तथा कार्यक्रम पारित गरिएको हो ।
उपप्रमुख राईले किसानले वर्षभरि गरेको मेहनत बाली भित्र्याउने समयमा क्षति हुँदा ठूलो समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्न यो कार्यक्रम ल्याइएको बताए ।
उनले किसानलाई बाली सुरक्षित रूपमा भित्राउन सक्ने वातावरण बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको पनि स्पष्ट पारे ।