रूपा गाउँपालिकाको कृषि, पर्यटन र पूर्वाधारमा आक्रामक योजना [पूर्णपाठ]
४५ सय रोपनी खेती विस्तारदेखि ‘ग्रेट वाल’ अवधारणासम्म
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
223
Shares
पोखरा। कास्कीको रूपा गाउँपालिकाले कृषि, पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभामा मंगलबार अध्यक्ष नवराज ओझानवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन र सामाजिक सुरक्षालाई विकासको मुख्य आधार बनाइएको छ ।
नीतिअनुसार कृषि तथा पशुपालनलाई आत्मनिर्भर र व्यावसायिक बनाउने लक्ष्य लिइएको छ । किसानलाई प्रविधिसँग जोड्न ‘रूपा किसान एप’ सञ्चालन गरिनेछ ।
दूध उत्पादनमा आत्मनिर्भर बन्न संस्थागत डिपोमा दूध बिक्री गर्ने किसानलाई प्रतिलिटरका आधारमा अनुदान दिइने व्यवस्था गरिएको छ । बाँझो जमिनको उपयोग बढाउन अदुवा, बेसार, लसुन, टिमुरलगायत मसलाजन्य नगदेबाली विस्तार गर्दै करिब चार हजार पाँच सय रोपनी क्षेत्रफलमा खेती विस्तार गरिने उल्लेख छ ।
पशु आहार व्यवस्थापन सहज बनाउन गाउँपालिकाभित्र साइलेज कम्पनी स्थापना गरी किसानलाई सहुलियत दरमा साइलेज उपलब्ध गराइनेछ । कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिने र उत्पादनदेखि बजारसम्म गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ । साथै, भूमि बैंक सञ्चालनमार्फत खेतीयोग्य जमिनको उपयोग बढाउने नीति अघि सारिएको छ ।
स्वास्थ्य क्षेत्रमा विद्यालय तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ । रूपाकोट अस्पतालबाट मासिक दुई पटक विशेषज्ञसहित दन्त सेवा सञ्चालनलाई निरन्तरता दिइनेछ । स्वास्थ्य बीमा गर्ने नागरिकलाई बीमा शुल्कमा छुट दिने व्यवस्था कायम राखिनेछ भने ज्येष्ठ नागरिक, मधुमेह र उच्च रक्तचापका बिरामीका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
पूर्वाधारतर्फ गाउँपालिकाको गौरवको आयोजना रामकोट-राम्दी सडकलाई निरन्तरता दिइनेछ । देउराली फेदी-राम्दी-माउँडाँडा, शिवचण्डी मोटरबाटो, पोल्याङ-ठाँटीथर-थम्का तथा राम्चे-भुवाने सडकलाई प्राथमिकतामा राखिएको छ।
अध्यक्ष ओझाका अनुसार वडा नम्बर १, ३ र ७ जोड्ने रामकोट-हाँसपोखरी-पिप्ले सडक ९८ करोड रुपैयाँमा ठेक्का भई कार्यान्वयनमा छ ।
गाउँपालिकाले हालसम्म करिब १३९ किलोमिटर सडक कालोपत्रे गरिसकेको उल्लेख गर्दै अब नयाँ ट्र्याक नखोल्ने नीति लिएको छ । निर्माण भएका सडकको संरक्षण र नियमित मर्मतलाई प्राथमिकता दिँदै द्रुत प्रतिक्रिया टोलीमार्फत तत्काल मर्मत प्रणाली लागू गरिनेछ ।
पर्यटन प्रवद्र्धनमा रूपालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । रूपा-६ को मेहेरेदेखि हात्तीमैला क्षेत्रसम्म ‘ग्रेट वाल’ अवधारणामा विकास गर्ने योजना अघि सारिएको छ । भंगारामा झरना निर्माणको सम्भाव्यता अध्ययन, होमस्टे विस्तार, सांस्कृतिक संग्रहालय स्थापना र धार्मिक पर्यटन विकास कार्यक्रम समेटिएका छन् ।
रूपा-७ को इन्द्रगुफा, रूपा-१ को कोटकालिका र रूपा-३ को सहिद पार्क क्षेत्रको सौन्दर्यीकरणलाई निरन्तरता दिइनेछ । रूपा ताल परियोजनालाई स्तरीय बनाउँदै पर्यटकीय हबका रूपमा विकास गरी राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
शिक्षा क्षेत्रमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । गणित र अंग्रेजी शिक्षकका लागि विशेष तालिम, प्रविधिमैत्री शिक्षण प्रणाली, गरिब तथा जेहेन्दार विद्यार्थी कोष स्थापना र विद्यालय एकीकरणको पाइलट कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन सम्झौता गरी नतिजामा आधारित प्रोत्साहन व्यवस्था लागू गरिनेछ ।
सामाजिक सुरक्षाअन्तर्गत करार तथा विद्यालय कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ । प्रत्येक वडामा जनजातीय भाषाको संरक्षणका लागि भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ भने संस्कृति संरक्षणका लागि संग्रहालय विकास गरिनेछ ।
सीमित स्रोत र साधनबीच स्थानीय सम्भावनाको अधिकतम उपयोग गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणलाई तीव्रता दिने लक्ष्य गाउँपालिकाले लिएको छ। ‘रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र दिगो विकासमा केन्द्रित गरिएको छ ।