बेरुजु शून्यमा झार्ने, कुनै पनि कार्यक्रममा पेश्की नदिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
261
Shares
पोखरा। कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार सम्पन्न १९ औं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङकल्पना गुरुङले आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमध्ये चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
खर्च व्यवस्थापनका लागि संघीय समानिकरण अनुदान १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजस्व बाँडफाँट ११ करोड ८२ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश समानिकरण अनुदान १ करोड ११ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान ४५ लाख, प्रदेश विशेष अनुदान ४० लाख र प्रदेश राजस्व बाँडफाँट एक करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
स्थानीय राजस्व बाँडफाँट ५६ लाख, रोयल्टी दुई करोड ६० लाख र आन्तरिक आय एक करोड ११ लाख ९६ हजार हुने अपेक्षा गरिएको छ ।
तर गाउँपालिकाले छ करोड ३१ लाख २० हजार घाटा बजेट पनि प्रस्तुत गरेको छ, जसलाई चालु आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने जनाएको छ ।
क्षेत्रगत विनियोजनअनुसार वडास्तरीय योजना तथा कार्यक्रमका लागि आठ करोड आठ लाख २४ हजार छुट्याइएको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक विकासतर्फ ३२ करोड ५४ लाख, पूर्वाधार तथा पर्यटनतर्फ १३ करोड ५४ लाख ४१ हजार, र कृषितर्फ तीन करोड २९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
पहाडी र हिमाली भूगोल भएको मादीले ग्रामीण पहुँच सहज बनाउन विद्यालयमा बस खरिदका लागि अनुदान दिने नीति अघि सारेको छ ।
टाढा बस्ने विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न विद्यालय बस सञ्चालनमा सहयोग गर्ने र त्यसका लागि सुरक्षा मापदण्ड तथा नियमित अनुगमन लागू गरिने उपाध्यक्ष गुरुङले बताएकी छन् । साथै विद्यार्थीलाई बस भाडा उपलब्ध गराउने व्यवस्था पनि गरिनेछ ।
गाउँपालिकाले वित्तीय अनुशासन कडा बनाउँदै अबदेखि कुनै पनि कार्यक्रममा पेश्की नदिने नीति लिएको छ । बेरुजु शून्यमा झार्ने लक्ष्यसहित पेश्की खर्चलाई पूर्ण रूपमा नियन्त्रण गरिने उपाध्यक्ष गुरुङले स्पष्ट पारेकी छन् ।
निर्माण सामग्री खरिदबाहेक अन्य कार्यमा पेश्की नदिने नीति लागू गरिने र महालेखा प्रतिवेदनअनुसार देखिएको बेरुजु असुलउपर गर्दै सुधार गर्ने लक्ष्य लिइएको छ ।
कृषि क्षेत्रमा सामूहिक तथा सहकारी खेतीलाई प्रवर्द्धन गर्दै ‘एक गाउँ, एक उत्पादन’ अवधारणाको अध्ययन अघि बढाइने भएको छ । बाँझो तथा नदी-खोला किनाराका जमिनमा बगर खेती कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिइएको छ ।
सीमित स्रोतका बीच कृषि, शिक्षा, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै मादी गाउँपालिकाले विकास कार्यक्रम अघि सारेको छ ।