arrow

सीटीईभीटी उपाध्यक्षका लागि २५ र सदस्यसचिवका लागि चार जनाको दरखास्त स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
education-science-technolog.jpg

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष र सदस्यसचिव पदका लागि परेका आवेदनमध्ये योग्य उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको छ। 

शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार रिक्त उपाध्यक्ष पदका लागि २५ जना र सदस्यसचिव पदका लागि ४ जना आवेदकको दरखास्त स्वीकृत भएको छ।

गत जेठ २१ गते प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएका र तोकिएको प्रक्रिया तथा योग्यता पुगेका उम्मेदवारहरू अब अर्को चरणको छनोट प्रक्रियामा सामेल हुनुपर्नेछ। 

स्वीकृत नामावलीमा परेका आवेदकहरूले अब मूल्याङ्कन समितिले तोकेको समयतालिका अनुसार अन्तर्वार्ता र आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण (प्रेजेन्टेसन) दिनुपर्ने मन्त्रालयले जनाएको छ।

परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने कानुनी व्यवस्था छ। केही समयअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी भएपछि अन्य सरकारी निकायहरू जस्तै सीटीईभीटी पनि पदाधिकारीविहीन बन्न पुगेको थियो।

पदाधिकारी रिक्त भएपछि हाल परिषद्को प्रशासनिक नेतृत्व सम्हाल्न अनोज भट्टराईलाई निमित्त सदस्यसचिवको जिम्मेवारी तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ