चालीस दिनमै कक्षा १२ को नतिजा, चित्त नबुझे असार ६ देखि अनलाइन 'रिटोटलिङ' खुला
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
298
Shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा तय भएको समयभन्दा अगावै सार्वजनिक गरेको छ। सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा निकाल्न निर्देशन दिएको भए तापनि बोर्डले तदारुकता देखाउँदै मात्र ४० दिनभित्रै शुक्रबार नतिजा प्रकाशन गरेको हो।
सार्वजनिक नतिजा अनुसार नियमित र आंशिक गरी परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन्। परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सम्मिलित थिए। जसमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० (६९.७५ प्रतिशत) र आंशिकतर्फ ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। बाँकी ३५.८७ प्रतिशत विद्यार्थी भने अनुत्तीर्ण (नन्-ग्रेड) भएका छन्।
परीक्षाफल बोर्डको आधिकारिक वेबसाइटहरू result.neb.gov.np र neb.gov.np का साथै नेपाल टेलिकमको वेबसाइट, एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत सजिलै हेर्न सकिने बोर्डले जनाएको छ।
सार्वजनिक नतिजामा चित्त नबुझेका विद्यार्थीहरूका लागि बोर्डले पुनर्योग (रिटोटलिङ) को व्यवस्था गरेको छ। परीक्षार्थीहरूले प्रतिविषय एक हजार रुपैयाँ शुल्क बुझाएर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।