काठमाडौँ महानगरको छात्रवृत्तिका लागि ३७ सय विद्यार्थी सिफारिस
जेठ २७ भित्र भर्ना हुनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
279
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) प्रकाशन गर्दै तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ।
महानगरको छात्रवृत्ति छनोट परीक्षाबाट अन्तिम योग्यताक्रम (मेरिट लिस्ट) मा परेका विद्यार्थीहरूलाई उनीहरूले रोजेको विषय, शिक्षण संस्थाको प्राथमिकता र तोकिएको आरक्षण कोटाका आधारमा सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिए। शुक्रबार बसेको परीक्षा समितिको बैठकले यो मनोनयन सूची प्रकाशन गर्ने निर्णय गरेको हो।
मनोनयन सूचीमा नाम परेका विद्यार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टल https://entrance.kathmandu.gov.np/ मा गएर आफ्नो परीक्षाको रोल नम्बर, जन्म मिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ। सिफारिस भएका विद्यार्थीहरूले उक्त मनोनयन पत्र लिई आगामी जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्नेछ।
प्रकाशित सूचीअनुसार सङ्कायगत रूपमा सबैभन्दा बढी विज्ञानमा दुई हजार २६६ जना र व्यवस्थापनमा एक हजार ४०१ जनाको नाम सिफारिस भएको छ। त्यस्तै कानुन सङ्कायमा ५० जना, मानविकीमा १२ जना र शिक्षा सङ्कायमा ६ जना विद्यार्थी सिफारिस भएका छन्।
आरक्षण तथा समूहगत रूपमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गर्ने एक हजार ५४५ जना, महानगरभित्रका स्थायी बासिन्दा चार सय ९२ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्ने चार सय ८१ जना र छात्रा कोटाबाट चार सय ४० जना विद्यार्थी यस सूचीमा परेका छन्। यसका साथै खस आर्यबाट एक सय ९७ जना, आदिवासी जनजातिबाट एक सय ७३ जना, मधेसीबाट एक सय ४९ जना, दलितबाट ९६ जना, पिछडिएको क्षेत्रबाट ४६ जना, थारुबाट ३९ जना, ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, मुस्लिमबाट २२ जना, सहिद, बेपत्ता पारिएका, जेन-जी आन्दोलन तथा द्वन्द्वपीडित परिवारबाट १४ जना र अपाङ्गता भएका व्यक्ति वा अभिभावक अपाङ्गता भएका परिवारबाट १३ जना विद्यार्थी छन्।
यस वर्ष काठमाडौँ महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ का लागि कुल चार हजार ८५७ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयनमा परेका विद्यार्थीहरू जेठ २७ गतेभित्र भर्ना नभएमा ती सिटहरू रिक्त हुनेछन्। रिक्त रहेका सिटहरूमा बाँकी रहेका विद्यार्थीहरूको योग्यताक्रम र उनीहरूको प्राथमिकताका आधारमा जेठ २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन गरिने परीक्षा समितिले जनाएको छ।