परीक्षा दिनेमध्ये साढे एक लाख परीक्षार्थी अनुत्तीर्ण, ४० जनामाथि बोर्डको डण्डा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
540
Shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजाले विद्यालय शिक्षाको गुणस्तरमाथि फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ। समग्र नतिजालाई उल्टो तर्फबाट हेर्दा परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमध्ये ३५.८७ प्रतिशत अर्थात् एक लाख ४९ हजार ९८० परीक्षार्थी कुनै न कुनै विषयमा अनुत्तीर्ण (नन्-ग्रेड) भएका छन्।
बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सामेल भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जनाले मात्रै सबै विषयमा ग्रेड प्राप्त गरी उच्च शिक्षाका लागि योग्य ठहरिएका हुन्। नियमिततर्फ ३०.२५ प्रतिशत (१ लाख ४७१ जना) र आंशिकतर्फ ५७.६२ प्रतिशत (४९ हजार ५०९ जना) परीक्षार्थीले सबै विषयमा ग्रेड पाउन सकेनन्।
अर्कोतर्फ परीक्षाको मर्यादाविपरीत अमर्यादित र अनियमित कार्यमा संलग्न हुनु व्यक्तिगत रूपमा कति महँगो पर्न सक्छ भन्ने उदाहरण यसपटकको कारबाहीले देखाएको छ। बोर्डले परीक्षामा बदमासी गरेको पुष्टि गर्दै ४० जना परीक्षार्थीमाथि कडा डण्डा चलाएको छ।
जसमध्ये ३८ जनाको यस वर्षका सबै विषयको परीक्षा रद्द गरिदिएर बोर्डले उनीहरूको वर्षभरिको मिहिनेतमा पानी फेरिदिएको छ। बाँकी दुई जना परीक्षार्थीले त अझै ठूलो मूल्य चुकाउनुपरेको छ । उनीहरूको चालु परीक्षा रद्द गरिनुका साथै आगामी एक वर्षसम्म बोर्डले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।