पछिल्लो समय नेपाली कांग्रेसभित्र एउटा नियोजित भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । "कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ।” अझ रोचक कुरा त के छ भने यो भाष्य निर्माण गर्नेहरू प्रायः तिनै अनुहारहरू हुन्, जसले दशकौंसम्म कांग्रेसको निर्णय प्रक्रिया नियन्त्रण गरे, सत्ता र संगठनमाथि प्रभाव जमाए, र आज कांग्रेसले भोगिरहेका अधिकांश समस्याको जग उनैहरूले बसाले।
आज उनीहरू कांग्रेस कमजोर हुनुको सम्पूर्ण दोष वर्तमान नेतृत्व, विशेषतः सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र वर्तमान केन्द्रीय समितिमाथि थोपर्न खोजिरहेका छन्। तर प्रश्न उठ्छ । के कांग्रेसको कमजोरी भदौ २३/२४ पछि मात्र सुरु भएको हो? के त्यसअघि कांग्रेस आदर्श, पारदर्शी र जनविश्वासको शिखरमा थियो? के वास्तवमै वर्तमान नेतृत्वले मात्रै कांग्रेसलाई यहाँसम्म पुर्याएको हो? यदि निष्पक्ष भएर इतिहास हेर्ने हो भने उत्तर स्पष्ट छ, होइन।
कांग्रेसको वर्तमान अवस्थाको बीउ आज रोपिएको होइन। वर्षौंसम्म सिद्धान्तभन्दा सत्ता, संगठनभन्दा गुट, कार्यकर्ताभन्दा आसेपासे र राष्ट्रहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले कांग्रेसलाई विस्तारै कमजोर बनाएको हो। जनताले कांग्रेसलाई किन दण्डित गरे ? किन कांग्रेसको जनाधार खस्कियो? किन इमानदार कार्यकर्ता निराश भए ? यसको उत्तर खोज्न धेरै टाढा जानुपर्दैन।
वाइडबडी काण्ड, सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण, टेरामक्स विवाद, भुटानी शरणार्थी काण्ड, विवादास्पद राजदूत नियुक्ति, समानुपातिक सांसद कोटाको व्यापारीकरण लगायतका घटनाहरूले कांग्रेसको नैतिक धरातल कमजोर बनाए । यी सबै घटनाहरूको जिम्मेवारी आजको नेतृत्वमाथि कसरी थोपर्न सकिन्छ ? साँचो कुरा के हो भने कांग्रेसलाई यहाँसम्म पुर्याउनेहरू आज आफैँलाई निर्दोष सावित गर्न र सुधारको एजेन्डा बोकेर हिँडेकाहरूलाई दोषी देखाउन व्यस्त छन् ।
वास्तविकता अझ कटु छ। पार्टीभित्र केही व्यक्तिहरूले वर्षौंसम्म मुख्य नेतृत्वलाई “खोपीभित्रको राजा” बनाएका थिए । बाहिर सबै ठीक छ भन्ने भ्रम छर्दै निर्णय प्रक्रियामाथि कब्जा जमाइरहन सफल भए। महासमितिले पारित गरेका प्रस्तावहरूलाई समेत आफ्नो स्वार्थअनुसार परिमार्जन गर्न तत्कालीन नेतृत्वलाई दिन सम्म दवाब दिँदै आफू अनुकूल निर्णयहरू गर्दै गए । संगठनभन्दा गुट बलियो बनाइयो। योग्यभन्दा आज्ञाकारीलाई प्राथमिकता दिइयो।
परिणामस्वरूप कांग्रेसभित्र इमानदार, मेहनती र वैचारिक कार्यकर्ताहरू क्रमशः निस्कृय हुँदै गए । कति त पाखा लाग्दै गए । आज नयाँ भनेर उदाएका रास्वपा पार्टीमा पूर्व कांग्रेसहरूको उपस्थितिसहित निर्णायक स्थानमा पुगेकाहरू नै एउटा ज्वलन्त उदाहरण हुन् ।
यस्ता अनेकन कमजोरी र बेथितिहरूलाई चिर्न छिचोल्न आज जब कांग्रेसभित्र सुधारको बहस सुरु भएको छ, जब संगठनलाई प्रविधिमैत्री बनाउने प्रयास भइरहेको छ, जब युवालाई नेतृत्वमा ल्याउने र पार्टीलाई जनतासँग पुनः जोड्ने अभियान अघि बढिरहेको छ, त्यही परिवर्तनलाई रोक्न पुरानै शक्ति केन्द्रहरू सक्रिय छन्।
विडम्बना के छ भने वर्तमान नेतृत्वले जनतालाई भन्दा बडि आफ्नै कार्यकर्तालाई विश्वास दिलाउनुपरेको छ कि कांग्रेस सकिने होइन, सच्चिने बाटोमा हिँडिरहेको छ भनेर ।
हुनुपर्ने के थियो भने सम्पूर्ण कांग्रेस पंक्ति एकजुट भएर जनतामाझ पुग्थ्यो र भन्नु पर्थ्यो “हामीले विगतका कमजोरी स्वीकार गरेका छौँ, अब सुधारको यात्रामा छौं।” तर केही व्यक्तिहरू अझै पनि आफ्नो राजनीतिक लगानीको ब्याज खोज्न र विगतको प्रभाव कायम राख्न संघर्षरत छ्न् । यस्ता व्यक्तिहरूलाई एउटा कुरा स्पष्ट रूपमा बुझ्न आवश्यक छ। अब कांग्रेसलाई भ्रम, अफवाह र आरोपको राजनीतिले रोक्न सक्दैन।
यदि कसैलाई लाग्छ कि गगन थापाको नेतृत्व असफल छ, यदि कसैलाई विश्वास छ कि ऊभन्दा राम्रो दृष्टिकोण, राम्रो योजना र राम्रो क्षमता आफूसँग छ भने लोकतान्त्रिक मैदान खुला छ। आउनुहोस्, १५औँ महाधिवेशनमा प्रतिस्पर्धा गरौं। कार्यकर्ताले निर्णय गरून्। जनमतले फैसला गरोस्।
तर निरन्तर बाहिर बसेर परिवर्तनको विरोध गर्ने, सुधारको अभियानलाई कमजोर पार्ने र आफ्नै विगतका गल्ती बिर्सेर अरूमाथि दोष थोपर्ने राजनीति अब धेरै दिन चल्ने छैन।
आज कांग्रेसको आवश्यकता दोषारोपण होइन, आत्मसमीक्षा हो। आज कांग्रेसको आवश्यकता गुट होइन, एकता हो। आज कांग्रेसको आवश्यकता व्यक्तिपूजा होइन, संस्थागत सुदृढीकरण हो। आज कांग्रेसको आवश्यकता विगतको बचाउ होइन, भविष्यको निर्माण हो।
कांग्रेस कमजोर भएको छैन। कांग्रेस आफ्नो कमजोरीसँग सामना गरिरहेको छ। कांग्रेस सकिने होइन, सच्चिने संकल्पका साथ अगाडि बढिरहेको छ्। इतिहासले प्रमाणित गरेको छ । आत्मसमीक्षा गर्ने पार्टी कमजोर हुँदैन, बरु पुनर्जन्म लिन्छ। त्यसैले कांग्रेसलाई कमजोर देख्नेहरूलाई भन्दा कांग्रेसलाई सुधार्नेहरूलाई इतिहासले सम्झिनेछ्न् ।
आत्मसमीक्षाले मात्र पुग्दैन, सुधारको संकल्पलाई परिणाममा बदल्न पनि सक्नुपर्छ। यदि नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुनः देशको पहिलो पार्टी बन्ने लक्ष्य राखेर गगन थापाको नेतृत्वमा यी पाँच साहसी र स्पष्ट कदमहरू चाल्दै अगाडि बढ्नु पर्छ ।
यसको लागि पहिलो सर्त अनिवार्य पार्टीभित्र योग्यता, कार्यसम्पादन र जनस्वीकृतिलाई अवसरको आधार बनाउँदै गुट र निकटताको संस्कृतिलाई अन्त्य गर्नुपर्छ।
दोश्रो अनिवार्य सर्त भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि शून्य सहनशीलताको नीति अपनाउनुपर्छ। तेश्रो युवापुस्तालाई भाषणमा होइन, निर्णय प्रक्रियामा वास्तविक सहभागिता दिनुपर्छ।
चौथो, संगठनलाई पूर्ण रूपमा प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाइनुपर्छ। पाँचौँ, कांग्रेसले केवल सरकारमा जाने रणनीति होइन, देश बनाउने स्पष्ट राष्ट्रिय दृष्टिकोण जनतासामु प्रस्तुत गर्नुपर्छ।
आजको नेपाली समाज परिवर्तन चाहन्छ, इमानदारी चाहन्छ, परिणाम चाहन्छ। यदि कांग्रेसले विगतका कमजोरीबाट शिक्षा लिँदै नयाँ पुस्ताको ऊर्जा, लोकतान्त्रिक मूल्य र सुशासनको प्रतिबद्धतालाई व्यवहारमा उतार्न सक्छ भने कांग्रेसलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।
कांग्रेसको वास्तविक शक्ति कुनै नेता, कुनै गुट वा कुनै पद होइन यसको शक्ति लोकतन्त्रप्रतिको विश्वास, लाखौं कार्यकर्ताको त्याग र जनताको भरोसा हो। अब कांग्रेसले विगतको विरासतमा गर्व मात्र गर्ने होइन, भविष्यको नेतृत्व गर्ने क्षमता पनि प्रमाणित गर्नुपर्छ ।
त्यो दिन कांग्रेस केवल नेपालको सबैभन्दा ठूलो पार्टी मात्र होइन, सबैभन्दा विश्वासिलो राजनीतिक शक्ति पनि बन्नेछ। (लेखक गुरुङ नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी नेपाली जनसम्पर्क समिति बहराइनका निवर्तमान सभापति हुन्)