कांग्रेसको संस्थापन इतरको विराटनगरमा भेला: कोइराला, सिटौला र गच्छदार एउटै मञ्चमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
211
Shares
तस्बिर फाइल
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज (आइतबार) विराटनगरमा कोशी प्रदेशस्तरीय विशेष भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ। कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने यस भेलालाई कांग्रेसका शीर्ष नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
लामो समयपछि पार्टीभित्र फरक-फरक धारमा रहेका यी तीन शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेकाले यस भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईले पार्टीभित्र पछिल्लो समय देखिएका गम्भीर साङ्गठनिक कमजोरीहरूलाई सच्याउन र केन्द्रीय नेतृत्वलाई तल्लो तहका कार्यकर्ताको वास्तविक भावना बुझाउनका लागि यो दबाबमूलक भेला आयोजना गरिएको जानकारी दिएका छन्। विशेष महाधिवेशन र त्यसपछिका राजनीतिक घटनाक्रमका कारण पार्टीभित्र बढेको असन्तुष्टिलाई सम्बोधन गराउन इतर समूहले रणनीति तय गरिरहेको बुझिएको छ।
भेलाको पूर्वसन्ध्यामा कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले अहिले अपनाइएको प्रक्रिया प्राविधिक रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै यसले पार्टीको छवि र आन्तरिक लोकतन्त्रमा गम्भीर नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।
संस्थापन इतर समूहले हाल सातै प्रदेशमा केन्द्रीय नेतृत्वका विरुद्ध शृङ्खलाबद्ध रूपमा दबाब सिर्जना गरिरहेका छन्। कांग्रेस केन्द्रीय समितिले तोकेको क्रियाशीलता अद्यावधिक गर्ने समय सीमा सकिइसकेको भए पनि इतर समूहका अधिकांश नेता तथा कार्यकर्ताहरूले भने यो प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै अझैसम्म आफ्नो सदस्यता अद्यावधिक गराएका छैनन्। आजको भेलाले क्रियाशील सदस्यता र पार्टीको आगामी रणनीतिबारे थप ठोस साझा धारणा तय गर्ने नेताहरूले बताएका छन्।