कांग्रेस सचेतक राईको प्रश्न - करको दर कसको इशारा र स्वार्थमा हेरफेर गरियो ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
263
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई करको दर परिवर्तन कसको स्वार्थका लागि गरिएको हो भन्दै प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले करको दर र आर्थिक विधेयकमा गरिएको हेरफेरलाई लिएर सरकारप्रति कडा आक्रोश व्यक्त गरे।
राईले संसदमा प्रस्तुत भइसकेको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयमार्फत परिवर्तन गर्नु संवैधानिक रूपमा गलत भएको दाबी गर्दै यसलाई “अक्ष्यम्य गल्ती” भनेका छन्।
उनले संसदको अधिकारमा “कैंची चलाइएको हो कि” भन्दै प्रश्न उठाउँदै सदनमा प्रस्तुत भइसकेको विधेयक संसदकै सम्पत्ति हुने भएकाले त्यसलाई सरकार आफैंले परिवर्तन गर्न नपाउने तर्क गरे।
उनका अनुसार करको दर बारम्बार फेरबदल गर्नु गम्भीर विषय हो र यस्तो निर्णय कुन स्वार्थ वा कसको इशारामा गरिएको हो भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्नेछ।
सचेतक राईले अर्थमन्त्रीलाई कसैको प्रभाव वा दबाबमा परेर कर नीति परिवर्तन गर्ने छुट नरहेको चेतावनीसमेत दिएका छन्।