सरकारसँग रास्वपाकै सांसद असन्तुष्ट, सरकारले नसुन्ने परम्पराको अन्त्य होस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
304
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले संसद्को शून्य समयमा उठाइएका जनताका मुद्दा कार्यान्वयनमा नजाने परम्पराको अन्त्य गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सांसदले बोल्ने, सरकारले नसुन्ने र जनताले गुनासो गरे पनि राज्य व्यवस्थाले बेवास्ता गर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
शून्य समयमा उठाइएका विषय कार्यान्वयनमा नपुगेकोप्रति असन्तुष्टि जनाउँदै उनले यसलाई ‘शून्य समय’ भन्दा ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरे।
‘यदि शून्य समयमा उठाइएका विषय सुनिन्छन्, टिपोट गरिन्छन् र कार्यान्वयन प्रक्रियामा जान्छन् भने यसलाई शून्य होइन, पूर्ण समय भनौँ,’ उनले भने, ‘तर जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दा जति उठाए पनि शून्यमै विलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ।’
ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने उनको भनाइ थियो।
सांसद आचार्यले शून्य समय केवल औपचारिक बोल्ने थलो नभई जनताका पीडा र सरोकार संसद्मा प्रवेश गर्ने संवैधानिक माध्यम भएको उल्लेख गरे। उनले शून्य समयमा उठाइएका विषय अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउने व्यवस्था गर्न माग गरे।
उनले जनताको आवाजलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने माध्यमका रूपमा शून्य समयलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै सांसद बोल्ने, सरकार नसुन्ने र व्यवस्था मौन बस्ने परम्पराको अन्त्य हुनुपर्ने बताए।