मन्त्रीको ‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति कानूनी शासन विपरीत: बासना थापा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
310
Shares
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनी दिएको अभिव्यक्ति कानूनी शासनको विरुद्धमा रहेको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो भौतिक कारबाहीको भाषा लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने स्पष्ट पारिन्।
काम नगर्ने वा गल्ती गर्ने निर्माण व्यवसायीलाई कानूनी दायराभित्र ल्याएर कारबाही गरिनुपर्ने उनको भनाइ थियो। कानूनविपरीत काम गर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने, कानूनी कारबाही गर्ने वा आवश्यक प्रशासनिक प्रक्रिया अपनाउने उपायहरू हुँदाहुँदै राज्यको जिम्मेवार तहबाटै नागरिकमाथि भौतिक हिंसा र त्रास सिर्जना गर्ने खालको अभिव्यक्ति आउनु दुःखद भएको उनले उल्लेख गरिन्।
सांसद थापाले यस विषयमा मन्त्रीसँग प्रत्यक्ष जवाफ माग्न चाहे पनि बैठकमा मन्त्री नै अनुपस्थित भएकोमा असन्तुष्टि जनाइन्। मन्त्रीको अनुपस्थितिमा समितिको बैठक सञ्चालन भएको यो पहिलो पटक भएको भन्दै उनले मन्त्रीको उपस्थितिमा मात्रै यस विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने माग गरिन्। प्रतिपक्षको भूमिका सधैँ अवरोध सिर्जना गर्नु नभई सुशासन र विधिको शासन सुनिश्चित गर्नु रहेको भन्दै उनले नयाँ भन्दैमा स्थापित नीति, नियम र प्रक्रियालाई मिचेर अघि बढ्न नहुनेमा जोड दिइन्।
यसका साथै सांसद थापाले कर्णाली प्रदेशका सडक आयोजनाहरूको अवस्थाप्रति पनि समितिको ध्यानाकर्षण गराइन्। सडक निर्माण, इन्जिनियरिङ, मूल्यांकन र स्वीकृति प्रक्रियामा रहेका कमजोरीबारे प्रश्न उठाउँदै उनले कतिपय सडक निर्माण सम्पन्न भइसके पनि अझै रुट परमिट प्राप्त हुन नसकेको जानकारी दिइन्। निर्माण सकिएपछि पनि आवश्यक स्वीकृति र मूल्यांकन समयमै नहुँदा सार्वजनिक स्रोतको सही उपयोग हुन नसकेको उनको भनाइ थियो।