arrow

कर्णालीको उत्पादनदेखि सडकसम्म बजेट मौन : सांसद रोकाय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
jayapati-rokaya-02-03.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिए। तर, क्वारेन्टाइन स्थापना मात्रै पर्याप्त नभएको भन्दै त्यसलाई कर्णालीका उत्पादनको व्यवसायीकरण र निर्यातसँग जोड्ने स्पष्ट नीति तथा कार्यक्रम बजेटमा नदेखिएको बताए।

‘बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पूरै नजरअन्दाज गरेको छ,’ उनले भने, ‘हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने निर्णय स्वागतयोग्य छ। तर, त्यसमार्फत कर्णालीबाट निर्यात हुन सक्ने उत्पादनको व्यवसायीकरण र बजारीकरण गर्ने सरकारी नीति देखिँदैन।’

सांसद रोकायले हुम्ला अझै पनि मुख्य रूपमा हवाई यातायातमा निर्भर रहेको उल्लेख गर्दै सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। विशेषगरी कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रे गरेर यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउन बजेटले अपेक्षित महत्व नदिएको उनको भनाइ थियो।

‘हुम्लावासी अझै हवाई यातायातमा निर्भर छन्। कर्णाली करिडोरलाई छिटो स्तरोन्नति गर्दै कालोपत्रे गरी यातायात सहज र सुरक्षित बनाउने विषयमा बजेटले खासै प्राथमिकता दिएको छैन,’ उनले भने।

रोकायले कर्णालीको विकासका लागि पूर्वाधार निर्माणसँगै स्थानीय उत्पादनको प्रवर्द्धन, बजार विस्तार र सीमापार व्यापारलाई जोड्ने दीर्घकालीन नीति आवश्यक रहेको धारणा राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ