प्रतिनिधि सभामा मूल्य समायोजनदेखि डुबान समाधान गर्न सांसदहरुको माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
161
Shares
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले मध्यपूर्वमा युद्धविराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्रकुमार गुप्ताले मध्यपूर्वको युद्ध रोकिँदा र विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा त्यसको कुनै प्रभाव नदेखिएको भन्दै असन्तुष्टि जनाए। हालको मूल्य नेपाली जनताले थेग्न सक्ने खालको नरहेकाले यसलाई तत्काल समायोजन गर्न उनले सरकारसँग माग गरे।
त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद साहजान खातुनले गौरलगायतका सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबानको मारमा परेको बताइन्। उनले वर्षेनी घर, खेती नष्ट हुने र जनजीवन अस्तव्यस्त हुने समस्याको स्थायी समाधान निकाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले विद्यालय र विश्वविद्यालय अध्ययन गर्ने युवाहरू डरलाग्दो गरी लागुऔषधको कुलतमा फसेको भन्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्। तथ्यांक अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या वर्षेनी ११ प्रतिशतका दरले बढ्दै गएको र कुलतमा फसेकाहरू नसाको पैसा जोहो गर्न हत्या, हिंसा, चोरी जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न भइरहेको उनले बताइन्। प्रहरी अनुसन्धानले पनि विभिन्न अपराधमा लागुऔषध जोडिएको देखाएकाले यसको नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्ने उनको भनाइ थियो।
यसका साथै, बैठकमा सांसदहरूले आगामी विपद् व्यवस्थापनका लागि पनि सावधानीपूर्वक काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।