मन्त्रीहरू आएपछि फेरि शुरू भयो अवरुद्ध प्रतिनिधि सभा बैठक [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
176
Shares
काठमाडौँ । मन्त्री नहुँदा स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि चालु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ ओटा मन्त्रालयको बजेटमाथिको छलफल भइरहँदा नौ जना मन्त्री हुनुपर्नेमा जम्मा तीन जनामात्र भएसँगै बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
मन्त्रीहरू आएसँगै फेरि बजेटबारे छलफल भइरहेको हो । आज सांसदहरूको विचार राख्नेक्रम सकिएसँगै भोलिदेखि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन; कानून, न्याय तथा संसदीय मामिला; पूर्वाधार विकास; गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; परराष्ट्र; अर्थ; र रक्षा मन्त्रालयको बजेटमाथि समूहीकृत छलफल भइरहेको छ ।
यसका साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि पनि समूहीकृत छलफल हुँदैछ ।
यसअघि सोमबारको बैठकमा विभिन्न नौ ओटा मन्त्रालयका बजेट शीर्षकहरूमाथिको छलफल सकिएको थियो । बैठकमा युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन; र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि गहन छलफल भएको हो।
यी मन्त्रालयका बजेट शीर्षकहरूमाथि विभिन्न १२ जना सांसदहरूले खर्च कटौतीको प्रस्तावसहित आफ्नो धारणा राखेका थिए। त्यसैगरी, अन्य सांसदहरूले आ-आफ्नो दलीय आधारमा विनियोजन बजेटको प्राथमिकता र कार्यान्वयनका पक्षमा छलफलमा भाग लिएका थिए।