प्राकृतिक विपद्मा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
234
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लु) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गजुरेलले मनसुनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारीबारे कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानाकर्षण गराएका हुन्।
क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधवारदेखि नेपालको पूर्वी भाग (कोशी प्रदेश) बाट मनसुन सुरु भई अत्यधिक वर्षा हुने सम्भावना रहेको उनले उल्लेख गरे। गत वर्षको मनसुनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पुनर्निर्माण भइनसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्याउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
सांसद गजुरेलले नागरिकको जीवन, सडक, पुल, विद्युत्, सञ्चार उपकरण र अस्पतालजस्ता सार्वजनिक संरचनाको सुरक्षाका लागि सरकारको तयारी कस्तो छ भन्नेबारे केही थाहा हुन नसकेको बताए। साथै राहत र उद्धारमा खटिने स्वयंसेवक, रेडक्रस र सुरक्षा निकायको परिचालनका विषयमा पनि स्पष्टता नभएको उनको भनाइ थियो।
यसैगरी, नेपालको पश्चिमी भागमा आगामी १० दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा (लु) चल्ने पूर्वानुमान रहेकाले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के–कस्तो कदम चालिरहेको छ भनी उनले प्रश्न गरे। विपद् पूर्वतयारीका विषयमा गृहमन्त्रीले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्दै सांसद गजुरेलले यसका लागि सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गरे। उनले सम्भव भएसम्म आजैको बैठकमा वा अर्को बैठकमा मनसुनजन्य विपद् प्रतिकार्य योजनाबारे विस्तृत जानकारी गराउन माग गरेका छन्।