विकास होइन खेत बन्यो सडक, हिलाम्मे सडकमा स्थानीयले गरे धान रोपाइँ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
201
Shares
मोरङ। वर्षायाम शुरू भएसँगै मोरङको सुन्दरहरैंचा नगरपालिका-३ स्थित सगरमाथा टोलका स्थानीयले सडकको दूरावस्थाविरुद्ध अनौठो तर सशक्त विरोध जनाएका छन्। वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकमा मंगलबार धान रोप्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
वर्षाको पानी परेपछि सडक हिलाम्मे र जोखिमपूर्ण बन्दै आएको छ। दैनिक आवतजावत गर्नसमेत कठिन हुने अवस्था सिर्जना भए पनि पटक-पटकको आग्रह र गुनासोपछि पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ। त्यसैले खेतजस्तै बनेको सडकलाई प्रतीकात्मक रूपमा धान रोपेर विरोध जनाउनुपरेको उनीहरूको भनाइ छ।
स्थानीय विजय ओझाका अनुसार टोलको मुख्य सडक मर्मतका लागि वडा कार्यालयमा मौखिक र लिखित रूपमा पटक-पटक अनुरोध गरिए पनि कुनै प्रभावकारी पहल भएको छैन।
सामान्य मर्मत गरेर केही मिसगिटी हालिदिए पनि तत्काल सर्वसाधारणले राहत पाउने अवस्था रहे पनि सम्बन्धित निकाय मौन बसेको उनको गुनासो छ।
स्थानीय खेमकुमारी गौतमले यो आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्याको समाधानका लागि गरिएको बताइन्।
सडकको अवस्था यति दयनीय बनेको छ कि वर्षा लागेपछि बाटो र खेत छुट्याउनै कठिन हुने अवस्था आएको उनको भनाइ छ।
स्थानीयवासीले वडा कार्यालय र नगरपालिकासँग सडकको तत्काल मर्मत तथा स्तरोन्नतिको माग गरेका छन्। समयमै समस्या समाधान नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
नेपालका विभिन्न स्थानमा सडकको दूरावस्थाविरुद्ध सडकमै धान रोप्ने, माछा पाल्ने वा डुङ्गा चलाउनेजस्ता सांकेतिक आन्दोलन हुँदै आएका छन्।
सुन्दरहरैंचाको यो घटना पनि विकास निर्माणका प्रतिबद्धता र स्थानीय तहको सेवा प्रवाहमाथि नागरिकको बढ्दो असन्तुष्टिको अर्को चित्र बनेको छ।