arrow

विमानस्थल निर्माणका लागि रोक्का जग्गा दुई वर्षपछि फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
dharan-tourism-2082-01-02.jpg

काठमाडौँ। धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा प्रस्तावित विमानस्थल निर्माणका लागि रोक्का गरिएको जग्गा दुई वर्षपछि फुकुवा गरिएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीहरूको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य सबै जग्गाको रोक्का मङ्गलबारदेखि फुकुवा गरिएको हो।

धरानका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण र सिफारिस रोक्ने निर्णय गरेका थिए। सो निर्णयका कारण डाँडाघोपा क्षेत्रका करिब एक हजारभन्दा बढी घरपरिवारको जग्गा रोक्का भएको थियो। फुकुवासम्बन्धी निर्णय कार्यान्वयनका लागि वडा नं. १७ को कार्यालय, मालपोत तथा नापी कार्यालयमा पत्राचार गरिसकिएको बेघाले जानकारी दिए।

डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित २९ घरपरिवारसँग करिब सात बिघा जग्गा खरिद गरेको थियो। तत्कालीन समयमा प्रतिकट्ठा २८ हजारदेखि ३२ हजार रुपैयाँसम्ममा जग्गा किनेको सो कम्पनीले निजी क्षेत्रबाट विमानस्थल बनाउन पाउने कानुनी व्यवस्था नहुँदा काम अघि बढाउन सकेको थिएन। सस्तोमा जग्गा बेचेका स्थानीयले विमानस्थल नबन्ने भएपछि आफ्नो जग्गा फिर्ता पाउनुपर्ने माग गर्दै आएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा विमानस्थल निर्माण गर्न उपयुक्त नहुने निष्कर्ष निकालेपछि यो परियोजना थप अन्योलमा परेको थियो। यद्यपि, तत्कालीन पर्यटनमन्त्री सुदन किरातीको निर्देशनमा २०८० कात्तिकमा पुनः अध्ययनका लागि तीन सदस्यीय टोली गठन गरी स्थलगत निरीक्षण गरिएको थियो।

प्राधिकरणले यसअघि एटीआर–४२ क्षमताको जहाजका लागि ९३.२५ बिघा जग्गा चाहिने उल्लेख गरेको भए पनि हाल सञ्चालनमा रहेका ७२ सिट क्षमताका ठूला जहाजका लागि अझ बढी क्षेत्रफल आवश्यक पर्ने र डाँडाघोपाको भूगोलमा त्यो सम्भव नहुने निष्कर्ष अध्ययन टोलीले निकालेको थियो। जग्गा फुकुवा भएसँगै दुई वर्षदेखि आफ्नो सम्पत्ति उपयोग र कारोबार गर्न नपाएका स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ