arrow

मोरङ-३ मा १८ उम्मेद्वार भिडन्तमा, कांग्रेसका सुनील शर्माले पुन: बाजी मार्ने चर्चा

logo
विवेक मिश्र
प्रकाशित २०८२ फागुन १२ मंगलबार
morang-3-election.jpg

मोरङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं ३ लाई यस पटक पनि नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनील कुमार शर्माको पक्षमा अनुकूल देखिएको चर्चा छ।

शर्माले जनताका लागि गरेका काम, विगतको निर्वाचन परिणाम, संगठनात्मक पकड र प्रमुख प्रतिस्पर्धीको क्षेत्र परिवर्तनका कारणले पनि सुनीललाई बलियो दाबेदारका रुपमा चर्चा गरिएको छ ।

२०७९ को निर्वाचनमा शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दै स्पष्ट जित हात पारेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याएका थिए।

ढकाल यस पटक मोरङ ३ छोडेर तेह्रथुमबाट उम्मेद्वार बनेपछि यहाँ एमालेको प्रतिस्पर्धात्मक शक्ति कमजोर भएको विश्लेषण स्थानीय राजनीतिक वृत्तमा छ।

यस क्षेत्रबाट यसअघि एमाले र माओवादीले प्रत्यक्ष निर्वाचन जितेको इतिहास पनि छ ।

चार पालिका छोएको यस क्षेत्रअन्तर्गत कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका र सुन्दरहरैँचा नगरपालिका पर्छन्।

निर्वाचन आयोगका अनुसार बेलबारीका आठ ओटा वडामध्ये वडा नं ४ मा सात हजार ३८१ मतदाता छन् भने सुन्दरहरैँचाका छ ओटा वडामध्ये वडा नं १० मा सबैभन्दा बढी आठ हजार ५३० मतदाता छन्।

पथरी शनिश्चरेका आठ ओटा वडा र कानेपोखरीका चार ओटा वडा समेटिएको यो क्षेत्रको मतदाता संरचनामा कांग्रेसको संगठनात्मक पहुँच बलियो रहेको नेताहरू बताउँछन्।

२०७९ को समानुपातिक मत परिणामले पनि कांग्रेसको आधार बलियो रहेको देखाउँछ। त्यसबेला नेपाली कांग्रेसले २९ हजार ८५९ मत ल्याउँदा एमालेले २५ हजार २८ मत पाएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार ४०८, राप्रपाले नौ हजार ३७२ र तत्कालीन माओवादी केन्द्र तथा नेकपा (एस) ले आठ हजार ६१६ मत ल्याएका थिए।

यी दलहरू एक भएर नेकपा बनेपछि विपक्षी मत विभाजनको सम्भावना घटे पनि कांग्रेसको आधार मत अझै अग्रस्थानमै रहेको कांग्रेस नेताहरूको दाबी छ।

स्थानीय मतदाताबीच मत परिवर्तनको बहस चलेको स्वीकारिए पनि समग्र माहोल कांग्रेसकै पक्षमा रहेको दाबी छ।

बेलबारी निवासी धनबहादुर श्रेष्ठका अनुसार यस पटक प्रतिस्पर्धा अघिल्लोपटक जस्तो सहज नभए पनि शर्माको पक्षमा वातावरण अनुकूल देखिन्छ।

कांग्रेस मोरङ-३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारीले संगठन, अघिल्लो नतिजा र उम्मेद्वारको पहिचानका कारण यस पटक पनि शर्माको जित सुनिश्चित हुने दाबी गरे।

हाल यस क्षेत्रमा एमालेबाट इरान राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, नेकपाबाट डा. देउमान सम्बाहाम्फे, राप्रपाबाट प्रेम सुवेदी, श्रम संस्कृति पार्टीबाट अमिर मगरसहित १८ जनाको उम्मेद्वारी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ