हिमाल आरोही पहिलो महिला सशस्त्र प्रहरी शेर्पाको ऐतिहासिक सफलता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
283
Shares
काठमाडौँ। सशस्त्र प्रहरी नायब निरीक्षक नीम दिकी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी छन् ।
शेर्पाले आफ्नो यो उपलब्धि बाल्यकालदेखि मनमा बसेको सपना र निरन्तर मेहनतको परिणाम भएको बताइन् । हिमाल आरोही पासाङल्हामु शेर्पाको जीवनकथा पढेपछि आफूमा हिमाल आरोहण गर्ने प्रेरणा जागेको उनको भनाइ छ । संगठनमा प्रवेश गरेपछि आत्मविश्वास अझ बढेको उनले बताइन् ।
सगरमाथाको चुचुरोमा भावनात्मक क्षण
सगरमाथा आरोहणअघि उनले लोबुचे हिमाल चढेर उच्च हिमाली वातावरणसँग अभ्यस्त हुने अभ्यास गरेकी थिइन् । सगरमाथाको चुचुरोमा पुगेको क्षण जीवनकै अविस्मरणीय अनुभव भएको उनले सुनाइन् । त्यस क्षणमा आफू निशब्द बनेको र आँखाबाट आँसु झरेको उनले बताइन् ।
उनका अनुसार त्यतिबेला उनले सबैभन्दा पहिले भगवानलाई सम्झिएकी थिइन् । “फस्र्टमा त मैले ‘हाई’ पचाउनका लागि भनेर लोबुचे पिक चढें, सगरमाथाको शिखरमा पुग्दा म निशब्द भएँ । आँखाबाट आँसु झरिरहेको थियो । विश्वकै सर्वोच्च बिन्दुमा पुगेको अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन,” उनले भनिन्, “त्यही भएर ‘थ्याङ्क गड’ म तपाईंको कारणले यहाँ छु भन्ने भयो ।”
उनले भाग्यले साथ नदिए शिखरमा पुग्न नसकिने भएकाले भगवानप्रति कृतज्ञता व्यक्त गरेको अनुभव सुनाइन् ।
ल्होत्से आरोहण अझ चुनौतीपूर्ण
निम दिकी शेर्पाका अनुसार सगरमाथाभन्दा ल्होत्से आरोहण अझ कठिन रह्यो । सगरमाथा चढेर फर्किएपछि आएको शारीरिक थकान, अनिद्रा, अक्सिजनको कमी, प्रतिकूल मौसम र पर्याप्त खानपानको अभावले ल्होत्से आरोहण चुनौतीपूर्ण बनेको उनले बताइन् ।
“ल्होत्से चढ्दा गाह्रो भएको थियो । सगरमाथा चढेर आउँदा पछिको थकानले पनि होला रातको अनिन्द्रा, मौसमको चुनौती, अक्सिजनको कमी पनि होला । खाना पचिरहेको थिएन, त्यस कारण पनि समस्या भएको हो,” उनले भनिन् ।
उनका अनुसार हिमाल चढ्दा चुनौती शारीरिक मात्र नभई मानसिक रूपमा पनि अत्यन्त गम्भीर हुन्छ। हिउँ परिरहने, माथिबाट आइसफल खसिरहने, मौसम कहिले के हुन्छ भन्ने अनिश्चितताले जोखिम थपिने उनको अनुभव छ । सगरमाथा आरोहणमा डेथजोन पार गर्नुपर्ने भएकाले शारीरिक र मानसिक दुवै तयारी अनिवार्य हुने उनले बताइन् ।
एक वर्षको तयारी र तीन महिनाको विशेष प्रशिक्षण
आरोहणका लागि करिब एक वर्षअघिदेखि आवश्यक प्रक्रिया र स्वीकृतिहरू पूरा गरिएको उनले बताइन् । अन्तिम चरणमा तीन महिनाको विशेष प्रशिक्षण लिइएको थियो । संगठनको सहयोगबिना यो उपलब्धि सम्भव नहुने उनको भनाइ छ ।
“विशेष आरोहणकै लागि भनेर करिब तीन महिना प्रशिक्षण लिएँ । त्योभन्दा अगाडि नीति नियमहरू बुझें । म संगठनलाई प्रतिनिधित्व गर्ने मान्छे, सरकारका नीति नियमहरू पालना गर्नुपर्ने हुन्छ,” उनले भनिन्, “करिब एक वर्ष अगाडिदेखि तयारी गरेको हुँ । संगठनले समय व्यवस्थापनदेखि मानसिक हौसलासम्म सबै प्रकारको सहयोग गर्यो ।”
हार मान्ने क्षण र जिम्मेवारीको शक्ति
लोबुचे हिमाल आरोहणपछि बिरामी परेर केही दिन आराम गर्नुपरेपछि उनले आरोहण छोड्ने सोच पनि बनाएकी थिइन् । परिवारले पनि अर्को वर्ष प्रयास गर्न सुझाव दिएको थियो ।
तर उनले आफू केवल व्यक्तिगत सपना पूरा गर्न होइन, सशस्त्र प्रहरी बल र नेपाली महिलाको प्रतिनिधित्व गरिरहेको महसुस गरिन् । यही सोचले उनलाई फेरि उठ्न प्रेरित गर्यो । “म एक्लै निम दिकी शेर्पा मात्र होइन, मेरो पछाडि संगठन थियो । म एक महिला भएर अगाडि बढिरहेकी थिएँ,” उनले भनिन् ।
परिवारको साथ र श्रीमानको विश्वास
आरोहणको सुरुवातमा श्रीमानले जोखिमका कारण नजान आग्रह गरे पनि सफलतापछि सबैभन्दा खुसी उनै भएको उनले बताइन् । परिवारको चिन्ता स्वाभाविक भए पनि सफल भएर फर्किएपछि सबैको गर्व र खुसीले आफूलाई अझ ऊर्जा दिएको उनको भनाइ छ ।
महिलाका लागि प्रेरणा
हिमाल आरोहणका क्रममा महिलाले मासिक धर्मलगायत शारीरिक चुनौती सामना गर्नुपर्ने भए पनि आत्मविश्वास र मेहनत भए जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने उनले बताइन् ।
“हामी केवल घरपरिवारको जिम्मेवारी पूरा गर्न जन्मेका होइनौँ,” उनले भनिन्, “इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए महिलाले जुनसुकै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन् ।”
उनले आफूभन्दा अगाडिका महिला आरोहीहरूबाट प्रेरणा लिएको उल्लेख गर्दै आगामी पुस्ताका महिलालाई आफ्ना सपना पछ्याउन आग्रह गरिन् ।
हिमाल संरक्षण र पर्यटन प्रवर्द्धन
नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भएकाले हिमाल संरक्षण र पर्यटन प्रवर्द्धनमा सबैले योगदान गर्नुपर्ने उनले बताइन् । विदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिन सके नेपालको पर्वतीय पर्यटन अझ सशक्त बन्ने उनको धारणा छ ।
कर्तव्यतर्फ फर्किने तयारी
हाल विभिन्न कार्यक्रम र अन्तर्वार्तामा व्यस्त रहेकी शेर्पा केही समय विश्रामपछि पुनः आफ्नो नियमित जिम्मेवारीमा फर्किने तयारीमा छिन् । उनका अनुसार यो सफलता व्यक्तिगत मात्र नभई सशस्त्र प्रहरी बल, नेपाली महिला र राष्ट्रकै गौरव हो।