प्रधानमन्त्रीका गतिविधिले जनमत र संसद्को अपमान भयो: एमाले [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
160
Shares
काठमाडौँ। प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री वालेन्द्र साहका पछिल्ला गतिविधिले नेपाली जनता, संसद् र जनमतको अपमान गरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नेपालको सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय स्वाभिमान र जनभावनामाथि गम्भीर चोट पुर्याएको दाबी गरे।
महरले जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले आम नागरिकमा गम्भीर प्रश्न उठाएको बताए। प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।
उनले उक्त अभिव्यक्तिपछि जनताले संसद् र सांसदहरूप्रति समेत प्रश्न उठाइरहेको बताउँदै प्रधानमन्त्रीको भनाइको समर्थनमा ताली बजाउने सांसदहरूबारे समेत नागरिकले चासो व्यक्त गरिरहेको उल्लेख गरे।
‘प्रधानमन्त्रीले संसद्बाट राष्ट्रहितविपरीत अभिव्यक्ति दिँदा त्यसलाई समर्थन गर्नेहरू को हुन् भन्ने प्रश्न जनताले गरिरहेका छन्,’ उनले भने, ‘यसले हामीलाई दुःखी, लज्जित र गम्भीर बनाएको छ।’
प्रमुख सचेतक महरले परिवर्तन र सुशासनको प्रतिबद्धतासहित सत्तामा पुगेको दलबाट जनअपेक्षाअनुसार काम हुने विश्वास रहे पनि सरकारका पछिल्ला गतिविधिले त्यो विश्वास कमजोर बनाएको टिप्पणी गरे।
उनले प्रधानमन्त्रीले पटक-पटक गर्ने अभिव्यक्ति र गतिविधिले नेपाली जनता, संसद् र जनमतको हुर्मत लिने काम भइरहेको आरोप लगाउँदै सरकारले देश र जनताप्रतिको जिम्मेवारीलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने बताए।