शाहीलाई ३७ मतले पछि पार्दै रास्वपा मुगुमा मल्ल विजयी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
584
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिलो जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल जिल्ला सभापति पदमा विजयी भएका छन्। दुई दिनसम्म चलेको प्रथम जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आपसी सहमति हुन नसकेपछि मङ्गलवार मतदान प्रक्रियामार्फत नयाँ कार्यसमिति चुनिएको हो।
निर्वाचन समितिका संयोजक सुशीलकुमार भामका अनुसार मतगणना कार्यमा सभापति पदका उम्मेदवार मल्ल ४३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पार्धी मनोजकुमार शाहीले ६ मत मात्र प्राप्त गरे।
यसै गरी उपसभापति पदमा राजेन्द्र शाही ३५ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पार्धी विजयकुमार मल्लले १३ मत प्राप्त गरे। सचिव पदमा रामु विक २५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पार्धी नन्दबहादुर मल्लले २१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। सदस्य पदहरूमा जय धर्म जैसी ३९ मत, गोरखबहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका छन् भने सदस्य पदका अर्का उम्मेदवार खडकबहादुर शाहीले २९ मत प्राप्त गरेका छन्।
नवनिर्वाचित सभापति मल्लले आगामी दिनमा पार्टीमा आबद्ध भएका सम्पूर्ण सदस्यहरूलाई समेटेर लैजाने र सङ्गठनलाई बलियो तथा मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पुराना राजनीतिक दलहरूको हविगत र बेथिति देखेर नै नयाँ विकल्पका रूपमा रास्वपाको उदय भएको उल्लेख गर्दै उनले मुगु जिल्लामा हुने भ्रष्टाचार, विसंगति र नागरिकमाथि हुने अन्यायाविरुद्ध कडा रूपमा लड्ने बताए।
मल्लले पार्टीको मूल लक्ष्य र उद्देश्यअनुसार अगाडि बढ्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिँदै जिल्लाभरिका सबै बस्ती र वडा पालिकाहरूलाई घण्टीमय बनाई 'निलो क्रान्ति' सफल पार्नका लागि सबै सदस्यहरूलाई आह्वानसमेत गरेका छन्।