काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समसामयिक राजनीतिक विषयहरूमा साझा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
उनले भोलि सोमबार बिहान ९:०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय अन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा बस्ने गरी बैठक बोलाएका हुन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको जानकारी अनुसार यस बैठकमा सङ्घीय संसद्का दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ।
बैठकमा संसद्मा रहेका प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जना शीर्ष नेताहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
सर्वदलीय बैठकको औपचारिक सूचना र आमन्त्रण पत्र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले बताए ।
देशको वर्तमान राजनीतिक परिस्थितिलाई लिएर दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले यो बैठक डाकिएको बुझिएको छ।