कलैया उपमहानगरको उपनिर्वाचन खारेज गर्न रास्वपाको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
242
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्।
उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको दाबी गरेका छन्।
कार्यकर्ताका अनुसार २०८३ जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत प्राप्त गर्दै विजयी भएका थिए।
निर्वाचनपछि उनको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि ह्वाट्सएप समूहमार्फत उपनिर्वाचन गरिने सूचना सार्वजनिक गरिएको समर्थक धिराज पटेलले बताएका छन्।
पटेलका अनुसार उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेख नभएको साधारण कागजमा सार्वजनिक गरिएको थियो।
उनले ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ आधार देखाउँदै पुनः निर्वाचन गराइएको भनिए पनि निर्वाचनकै दिन यो विषय नउठाइएको भन्दै प्रश्न गरेका छन्।
उनले पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या गर्न नसकेको आरोप लगाउँदै विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको बताए।
पटेलले उपनिर्वाचन सीमित प्रतिनिधिबीच गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाएका छन्।
कार्यकर्ताहरूले उपनिर्वाचनको आधार र प्रक्रियाबारे पार्टी नेतृत्वले स्पष्ट जानकारी सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष ढंगले आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका छन्।
उनीहरूले परिवर्तनको अपेक्षासहित पार्टीमा आबद्ध भएका समर्थक पछिल्लो घटनाक्रमबाट निराश बनेको पनि बताएका छन्।