सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउन वर्षमानको आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
355
Shares
काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले संसद्को गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाइदिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पुनले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको विवादित अभिव्यक्ति संसद्मै आएर नसच्याएसम्म बैठक चल्न नदिने प्रतिपक्षी दलहरूको अडान यथावत् रहेको स्पष्ट पारे।
नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सदनको आधिकारिक रेकर्डबाट तत्काल हटाउनुपर्ने माग पुनः दोहोर्याए। राष्ट्रियतासँग जोडिएको यति गम्भीर विषयमा सरकार लाचार बन्न नमिल्ने भन्दै उनले प्रधानमन्त्री आफैँ उपस्थित भएर संसद्को रोस्ट्रमबाट माफी माग्नुपर्ने अडान प्रतिपक्षको रहेको बताए।
सदनको गतिरोध अन्त्यका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि केही विकल्पहरू अघि सारेको उल्लेख गर्दै नेता पुनले तिनै विकल्पमाथि बसेर संवाद गर्न सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गरे। उनले प्रतिपक्ष दलहरू संसद् नियमित चलोस् भन्ने पक्षमै प्रतिबद्ध रहेको भन्दै सहमति जुटाउनका लागि केही समय बैठक स्थगित गरेर संवाद थाल्न अनुरोध गरे।
नेता पुनले भने, "संसद् नियमित चलोस्, यसमा हाम्रो पूर्ण प्रतिबद्धता छ र हाम्रो धारणा पनि यही हो। त्यसो हुँदा आजको बैठकको सन्दर्भमा प्रधानमन्त्रीको यो विषय सच्चिनु पर्छ, संसद्को रेकर्डबाट हट्नु पर्छ र उहाँ आफैँले आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षहरूको अडान कायमै छ। सदन सुचारु गर्न स्वयम् सत्तारुढ पार्टीबाट प्रतिपक्षले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी विभिन्न विकल्पहरू आएका छन्, जुन सकारात्मक छन्। त्यसकारण, ती विकल्पहरू अझै निष्कर्षमा नपुगेका हुनाले केही समयका लागि सम्माननीय सभामुखज्यूले बैठक रोकेर आजै थप छलफल गर्ने वातावरण बनाइदिन म आफ्नो र प्रतिपक्षको तर्फबाट अनुरोध गर्न चाहन्छु।"
नेता पुनको यस्तो आग्रह र प्रतिपक्षको निरन्तरको अडानका कारण सोमबारको प्रतिनिधि सभा बैठक थप अन्योलपूर्ण बनेको छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको स्पष्टीकरण र माफीलाई नै मुख्य सर्त बनाएकाले नयाँ बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ।