प्रधानमन्त्री तत्काल संसद् नआउने सर्वदलीय बैठकमा रविले सुनाए, सदन अगाडि बढ्न नदिने विपक्षीको अडान
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
428
Shares
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) तत्काल संसद्मा उपस्थित हुन नसक्ने स्पष्ट पारेका छन्। ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री आफैँले जवाफ दिनुपर्ने अडान प्रतिपक्षी दलहरूले राखेपछि सभापति लामिछानेले यस्तो बताएका हुन्।
संसद्को गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप सोमबार सिंहदरबारमा रास्वपाले बोलाएको सर्वदलीय बैठकमा यो विषयले उग्र रूप लिएको थियो। बैठकमा सभापति लामिछानेले सरकारको तर्फबाट उक्त संवेदनशील विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा आधिकारिक जवाफ दिने कार्यतालिका तय भएको जानकारी गराए। परराष्ट्रमन्त्रीको जवाफमा चित्त नबुझे सत्तारुढ दलको प्रमुख साझेदारका हैसियतले आवश्यक परे आफैँले समेत संसद्मा स्पष्टीकरण दिने लामिछानेको भनाइ थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण कूटनीतिक स्टेटमेन्टबारे स्वयम् प्रधानमन्त्री संसद्मा नआएसम्म सदन अगाडि बढ्न नसक्ने अडान दोहोर्याए।
मुख्य सचेतक महरले संसद् अवरोध गर्ने आफूहरूको कुनै रहर नभए पनि राष्ट्रियतासँग जोडिएको यति गम्भीर विषयमा प्रधानमन्त्री भाग्न नमिल्ने बताए। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को आधिकारिक रेकर्डबाट हटाउनु पर्ने र संसद् सुचारु गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारकै भएको उल्लेख गरे।
बैठकको विवरण दिँदै मुख्य सचेतक महरले भने, "यो प्रधानमन्त्रीको स्टेटमेन्ट असाध्यै गम्भीर र संवेदनशील विषय हो। हामी संसद् खोल्न तयार छौँ, बजेटलगायत धेरै महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने छ र सदन अवरोध गर्ने हाम्रो कुनै चाहना होइन। तर एउटा सार्वभौम देशको प्रधानमन्त्रीले नेपालले नै अरू देशको भूमि मिचेको छ भनी संसद्को रोस्ट्रमबाट बोल्नु राष्ट्रघाती कुरा हो। त्यसैले प्रधानमन्त्रीले नै संसद्मा आएर जवाफ दिनुपर्छ र यो रेकर्ड संसद्को इतिहासबाटै हटाउनुपर्छ।"
उनले रास्वपा सभापतिको भनाइ उद्धृत गर्दै अगाडि थपे, "हामीले यो कुरा राखेपछि सभापति रवि लामिछानेले दुईवटा कुरा गर्नुभयो। पहिलो, उहाँहरूले यसबारे दलभित्र पनि छलफल गर्ने बताउनुभयो। दोस्रो, सदनमा परराष्ट्रमन्त्रीजीले यसको जवाफ दिने र आवश्यक परे आफू पनि बोल्ने तर अहिले प्रधानमन्त्री आउन नसक्ने कुरा गर्नुभयो। लामिछानेले प्रधानमन्त्री आउन सक्नुहुन्न भनेपछि हामीले त्यो स्वीकार्य हुँदैन भन्यौँ र बैठक बिनानिष्कर्ष सकियो।"
संसद्को अवरोध हटाउने मुख्य एजेन्डामा केन्द्रित सो सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे समेत दलहरूलाई ब्रिफिङ गरेका थिए। भ्रमणका क्रममा भएका कूटनीतिक भेटघाट र दुई देशबिचको आपसी सम्बन्धबारे उनले बैठकमा सहभागी नेताहरूलाई जानकारी गराएका थिए।
तर, प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिलाई नै मुख्य सर्त बनाएका कारण संसद् खोल्ने विषयमा दलहरूबिचको संवाद सहमतिमा पुग्न सकेन।