पाँच जिल्लामा नयाँ नेतृत्व, चितवनमा खनाल र कैलालीमा ठकुल्ला विजयी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
403
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक विस्तार र जिल्ला अधिवेशनका क्रममा सुदूरपश्चिमका तीन जिल्लासहित चितवन र रुपन्देहीमा नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार सम्पन्न निर्वाचन तथा अधिवेशनबाट अधिकांश स्थानमा मतदान प्रक्रियामार्फत नयाँ कार्यसमिति चुनिएका छन्।
रास्वपा कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला भारी मतका साथ विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा कुल ५०८ मतदातामध्ये ३३५ मत खसेको थियो, जसमध्ये ठकुल्लाले ३३५ मत नै प्राप्त गरी (प्रतिस्पर्धी महेशकुमार चौधरीको ३७ र हरि रेग्मीको २२ मत) विजय हासिल गरे।
यस्तै, पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै १५२ मतका साथ रामलखन चौधरी उपसभापतिमा निर्वाचित भए। सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्। कार्यसमिति सदस्यहरूमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जङ्गबहादुर आलेमगर, दीपक विक र नरदीपबहादुर धामी चुनिएका छन्। क्षेत्रीय सभापतिहरूमा क्षेत्र नं. १ बाट टङ्कप्रसाद जैशी ढुङ्गाना, क्षेत्र नं. २ बाट कृष्णबहादुर विष्ट, क्षेत्र नं. ३ बाट वासुदेव घरेडी र क्षेत्र नं. ४ बाट दुर्गा अधिकारी निर्वाचित भएका छन्।
पार्टीको बलियो पकड रहेको चितवनको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित भएका छन्। राति अबेर सम्पन्न मत गणना अनुसार खनाल २२२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एवं निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुसालले १११ मत र अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत मात्र प्राप्त गरे।
उपसभापति पदमा निर्मला गिरी १९० मत ल्याएर विजयी भइन् भने सचिवमा तेजेन्द्रप्रसाद पौडेल १९४ मत र सहसचिवमा कुशल पाठक १८७ मतका साथ निर्वाचित भए।
रुपन्देहीको तिलोत्तमा (मणिग्राम) मा सम्पन्न अधिवेशनबाट महेन्द्रप्रसाद उपाध्याय जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गरे। उपाध्यायले २९६ मत पाउँदा न्यौपानेले १४३ मत प्राप्त गरे।
यस्तै, उपसभापतिमा दुर्गाप्रसाद अर्याल (२३८ मत), सचिवमा ज्ञानेन्द्र पाण्डे (२३७ मत) र सहसचिवमा बाबुराम अर्याल (२७९ मत) विजयी भए। कार्यसमिति सदस्यहरूमा शर्मिला आचार्य, अनिता पन्थी, जमुना सापकोटा, रामनाथ हरिजन र राजबहादुर क्षेत्री चुनिएका छन्। क्षेत्रीय संयोजकहरूमा क्षेत्र नं. १ मा खडानन्द पौडेल, क्षेत्र नं. २ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नं. ३ मा छविलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा र क्षेत्र नं. ५ मा शेषकान्त गैरे (समिर) विजयी भएका छन्।
कञ्चनपुरमा भएको निर्वाचनबाट निवर्तमान सभापति पदमबहादुर विष्ट पुनः सभापतिमा निर्वाचित भएका छन्। कुल २५९ मत खसेको निर्वाचनमा विष्टले १९७ मत पाउँदा उनका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत मात्र पाए। उपसभापतिमा भागरथी बडाल र सहसचिवमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन्।
सचिव पदका लागि भएको प्रतिस्पर्धामा राकेशबहादुर चन्दले १९५ मत ल्याएर रामदत्त भट्ट (५५ मत) लाई पराजित गरे। निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा अम्बादत्त जोशी १२६ मतका साथ विजयी भए। नवनिर्वाचित सचिव चन्दले अब जिल्लामा रास्वपाको गतिविधिलाई थप प्रभावकारी र सुदृढ बनाइने प्रतिबद्धता जनाएका छन्।
रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपसभापति र सचिवबाहेक अन्य सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
मतदान भएको उपसभापति पदमा रामबहादुर देवार ९९ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी अरूण कुमार रोकायाले ८४ मत पाए। सचिवमा अशोक मल्ल ११६ मतका साथ विजयी हुँदा रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे। सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल निर्विरोध चयन भए। कार्यसमिति सदस्यहरूमा पुष्पराज रोकाया, गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन भएका छन्।