काठमाडौँ । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई दुई वटा मुद्दाको कसुरमा धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मङ्गलवार लिखत सम्बन्धी कसुरमा प्रमुख सिंहलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार झुठा विवरण पेस गरेर नागरिकता बनाएको कसुरमा भने प्रमुख सिंहलाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। न्यायाधीशबाट आदेश आइसकेकाले नगरप्रमुख सिंहले धरौटीको रकम जम्मा गर्ने कानुनी प्रक्रिया अघि बढाएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले मङ्गलवार नै वीरगञ्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो। पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि मात्रै पर्सा प्रहरीको विशेष टोलीले प्रमुख सिंहलाई मङ्गलवार पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो।
नगरप्रमुख सिंहमाथि अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको गम्भीर आरोप लागेको छ। यसअघि पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले दर्ता भएको लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरी अदालतमा पेस गर्न अनुरोध गरेको थियो।