इबोला प्रभावित क्षेत्रमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
877
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले इबोलाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को पूर्वी प्रान्तको शनिबार भ्रमण गरेका छन्।
इतुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग कुरा गर्दै महानिर्देशक टेड्रोसले अन्तर्राष्ट्रिय समुदायले कङ्गो सरकारलाई प्रकोपको सामना गर्न मद्दत गरिरहेको बताए। यद्यपि, यो समयमा स्थानीय समुदाय आफैँले पनि जिम्मेवारी लिएर प्रकोप कम गर्न पूर्व सावधानी अपनाउनु महत्त्वपूर्ण रहेको उनले स्पष्ट पारे। प्रकोपविरुद्ध भइरहेका प्रतिकार्यको अवस्था बुझ्न, समुदायसँग छलफल गर्न र मद्दतका क्रममा रहेका चुनौतीहरूको जानकारी सङ्कलन गर्न आफू त्यहाँ पुगेको उनले उल्लेख गरे।
अत्यधिक सङ्क्रामक मानिने यो रक्तस्रावी ज्वरो कङ्गोका तीनवटा पूर्वी प्रान्तहरू र छिमेकी देश युगान्डामा समेत फैलिइसकेको छ। युगान्डामा इबोला सङ्क्रमित एक व्यक्तिको मृत्यु भइसकेको छ भने अन्य नौ जनामा सङ्क्रमण पुष्टि भएको छ। अवस्था जटिल बन्दै गएपछि युगान्डाले यसै हप्ता डीआरसीसँगको आफ्नो सीमा बन्द गरेर त्यहाँबाट आउने जोसुकैलाई २१ दिन क्वारेन्टाइनमा राख्न आदेश दिएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी अफ्रिका) का अनुसार इबोला भाइरस सङ्क्रमणको घोषणा भएको दिन मे १५ देखि कङ्गोमा कम्तीमा १ हजार ७७ संदिग्ध सङ्क्रमितहरू भेटिएका छन्, जसमध्ये कम्तीमा २४६ जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले कङ्गोमा यो समस्या पत्ता लाग्नु अगावै फैलिसकेकाले वास्तविक सङ्क्रमितको सङ्ख्या अझ धेरै व्यापक हुन सक्ने चेतावनी दिएको छ। तीन दशकदेखिको द्वन्द्वले ग्रस्त यो विशाल मध्य अफ्रिकी देशमा सङ्क्रमण पुष्टि गर्ने प्रयोगशाला परीक्षण क्षमता भने सीमित छ।
यसैबिच, डब्ल्यूएचओले शुक्रबार दिएको जानकारी अनुसार अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये एक बिरामी बुधबार निको भएर डिस्चार्ज भएका छन्। अस्पतालमा गरिएको दुई पटकको परीक्षणमा संक्रमणमुक्त पुष्टि भएपछि उनलाई घर पठाइएको हो। डब्ल्यूएचओका एनिस लेगान्डले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै हालको प्रकोपमा इबोला सङ्क्रमित पुष्टि भएका बिरामीमध्ये निको भएको यो पहिलो घटना भएको बताएका छन्।
नजिकको सम्पर्क र शरीरको तरल पदार्थबाट सर्ने इबोलाले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। डीआरसीमा यसअघि सन् २०१८ र २०२० को बीचमा फैलिएको सबैभन्दा घातक इबोला प्रकोपले करिब ३ हजार ५०० सङ्क्रमितमध्ये झन्डै २ हजार ३०० जनाको ज्यान लिएको थियो। ‘मेडिकल च्यारिटी डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)’ ले एक विज्ञप्ति जारी गर्दै इबोला महामारी घोषणा भएको सुरुवाती दिनहरूमा यति धेरै घटना कहिल्यै पनि रेकर्ड नभएको जनाएको छ।
प्रकोप नियन्त्रणका लागि उक्त क्षेत्रमा खटिएका चिकित्सा विज्ञहरूको सङ्ख्या अझै अपर्याप्त छ। बढी प्रभावित इतुरी प्रान्तमा सरकारी सेवाहरूको ठूलो अभाव छ। त्यसमाथि इस्लामिक स्टेटसँग सम्बद्ध एडिएफ लडाकुहरू र अन्य मिलिसियाहरूको उपस्थितिका कारण सिर्जित असुरक्षाले गर्दा प्रभावित क्षेत्रहरूमा पहुँच अवरुद्ध भएको छ। इतुरीका साथै तीन दशकदेखि निरन्तर हिंसा झेलिरहेका नजिकैका उत्तर र दक्षिण किभु प्रान्तहरूमा पनि इबोलाका घटनाहरू प्रकोपकै रूपमा फेला परेका छन्।
सबैभन्दा ठूलो चुनौतीका रूपमा, हालको प्रकोपको कारण बनेको इबोलाको 'बुन्डिबुग्यो स्ट्रेन' का लागि अहिलेसम्म कुनै खोप वा विशेष उपचार फेला परेको छैन। यद्यपि, सिडिसी अफ्रिकाका प्रमुखले बिहीबार बोल्दै यो वर्षको अन्त्यसम्ममा यसको खोप तयार भइसक्नुपर्नेमा जोड दिएका छन्।