काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। जेनेभामा आयोजित विश्व स्वास्थ्य सभाको वार्षिक बैठकमा बोल्दै उनले यो महामारीको परिमाण र फैलने गति भयावह रहेकाले यसलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको विषय’ भन्दै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरिएको जानकारी दिए।
महामारीको पछिल्लो अवस्था र चाल्नुपर्ने कदमबारे आवश्यक सल्लाह लिन उनले मङ्गलबार नै डब्लूएचओको आपतकालीन समितिको बैठक बोलाएका छन्।
कङ्गोका स्वास्थ्य मन्त्रीका अनुसार गत हप्ताको अन्त्यसम्ममा इबोला प्रकोपका कारण १३१ जनाको मृत्यु भइसकेको छ भने ५१३ जनामा सङ्क्रमण पुष्टि भएको छ। कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा मात्रै हालसम्म ३० जनामा सङ्क्रमण भेटिएको डब्लूएचओ प्रमुख टेड्रोसले बताए।
यो प्रकोप कङ्गोमा मात्र सीमित नरही छिमेकी देश युगान्डामा समेत फैलिसकेको छ। युगान्डाको राजधानी कम्पालामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये एक जनाको मृत्यु भइसकेको छ। यसै गरी, कङ्गो र युगान्डाभन्दा बाहिर एक जना अमेरिकी नागरिकमा समेत सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जर्मनी सारिएको अमेरिकाले रिपोर्ट गरेको छ।
सङ्क्रमण पुष्टि भएका मामिला र नयाँ क्षेत्रहरू लगातार थपिँदै गएकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। टेड्रोसले कम्पाला जस्ता घना सहरी क्षेत्र र कङ्गोको गोमा सहरमा सङ्क्रमण देखिनु र यी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिसहरूको आवागमन हुनुले जोखिम झन् बढाएको औँल्याए।
विशेष गरी कङ्गोको इटुरी प्रान्त अत्यधिक जोखिममा रहेको छ। त्यस क्षेत्रमा बढ्दो सशस्त्र द्वन्द्वका कारण हालै मात्र एक लाखभन्दा बढी मानिस नयाँ विस्थापित भएका छन्। असुरक्षा र अस्तव्यस्तताका बीच बिरामीको उपचारमा खटिएका कतिपय स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणका कारण मृत्यु भएको दुःखद रिपोर्ट सार्वजनिक भएको छ।
डब्ल्यूएचओ प्रमुख टेड्रोसका अनुसार अहिले फैलिएको महामारी इबोला भाइरसको ‘बुन्डिबुग्यो स्ट्रेन’ हो। यो प्रजातिको इबोलाका विरुद्ध हालसम्म कुनै खोप वा निश्चित उपचार उपलब्ध छैन। उपचार र खोप दुवै नभएका कारण यो निकै घातक र संक्रामक बन्न सक्ने भन्दै उनले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
महामारी नियन्त्रणका लागि प्रभावित देशहरूमा सङ्क्रमण समयमै पत्ता लगाउन सक्ने प्रयोगशाला र परीक्षण प्रणालीलाई तत्काल सुदृढ पार्नु आवश्यक रहेकोमा उनले विशेष जोड दिएका छन्।