इबोला नियन्त्रणमा यात्रा प्रतिबन्ध बाधक बन्ने डब्लुएचओको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
813
Shares
काठमाडौँ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला प्रकोपका कारण प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डामाथि लगाइएका यात्रा प्रतिबन्ध तथा सीमा नाका बन्द गर्ने निर्णय पुनर्विचार गर्न सम्बन्धित देशहरूलाई आग्रह गरेका छन्।
कंगोको इतुरी प्रान्तस्थित बुनियामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ता प्रतिबन्धले महामारी नियन्त्रणका प्रयासलाई झन् जटिल बनाउने बताए।
उनका अनुसार प्रतिबन्धले पारदर्शिता घटाउनुका साथै मानवीय सहयोग र आपसी विश्वासमा समेत असर पुर्याउँछ।
टेड्रोसले हाल इबोलाविरुद्ध आधिकारिक खोप वा विशेष औषधि उपलब्ध नभए पनि संक्रमितले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाए निको हुन सक्ने बताए।
उनले प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्न र अवस्थाबारे जानकारी लिन क्षेत्रको भ्रमण गरेको पनि उल्लेख गरे।
हालसम्म कंगोमा एक हजारभन्दा बढी संदिग्ध संक्रमित फेला परेका छन्।
यता युगान्डाको स्वास्थ्य मन्त्रालयले राजधानी कम्पालामा दुई नयाँ संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या नौ पुगेको जनाएको छ।
कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले आगामी चारदेखि छ महिनाभित्र महामारी नियन्त्रण गर्ने लक्ष्य रहेको बताए।
उनका अनुसार हालसम्म नौ सय नमुना परीक्षण गर्दा दुई सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने देशले दैनिक दुईदेखि तीन सय नमुना परीक्षण गर्ने क्षमता विकास गरिसकेको छ।