विदेशी विश्वविद्यालय सम्बद्ध कलेज नियमन गर्न नयाँ नियमावली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
406
Shares
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याइने बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्न शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार सम्बन्धित मन्त्रालयबाट राय तथा स्वीकृति प्राप्त भएपछि उक्त नियमावली मन्त्रिपरिषद्मा पेश गरिनेछ ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजलाई कुन आधारमा अनुमति दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषयलाई नियमावलीमार्फत स्पष्ट पारिने उनले बताए ।
मन्त्री पोखरेलले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको बताए ।
उनले शिक्षा मन्त्रालयले हाल शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली गरी तीन ओटा नियमावली एकसाथ अघि बढाइरहेको जानकारी दिए ।
शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले अस्थायी रूपमा शिक्षा नियमावलीमार्फत व्यवस्थापन गर्न खोजिएको उनको भनाइ थियो ।
यस्तै, विद्यालयमा शिक्षक दरबन्दी मिलानको काम पनि स्थानीय तहसँगको समन्वयमा अघि बढाइएको मन्त्री पोखरेलले बताए ।