लोकतन्त्र र सुशासनका लागि मदन भण्डारीका विचार उपयोगी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
361
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारलाई समयअनुकूल थप विकास र विस्तार गरी प्रयोग गर्न आवश्यक रहेको बताएकी छन् ।
शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचार वर्तमान नेपाली राजनीतिमा अत्यन्त आवश्यक रहेको बताइन् ।
उनले ती विचारहरूको गहिरो अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको उल्लेख गरिन् ।
छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उनले बताइन् ।
मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति भएको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न सहयोग पुग्ने बताइन् ।
लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको उल्लेख गर्दै उनले मदन भण्डारीले देखाएको बाटोमा अघि बढ्न आग्रह गरिन् ।
कार्यक्रममा उनले भनिन्, “आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीको सामना गरिरहेका छन् । लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गहिरो अध्ययन, व्यापक बहस तथा समयअनुकूल विकास र प्रयोग गर्नु युवा पुस्ताको महत्वपूर्ण दायित्व हो ।”
लामो समय भूमिगत राजनीतिमा सक्रिय रहे पनि मदन भण्डारीको खुला राजनीतिक जीवन छोटो भए पनि उनको वैचारिक प्रभाव र योगदान दीर्घकालीन र प्रभावकारी रहेको उनले उल्लेख गरिन् ।
यसैगरी उनले युवाहरूलाई सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई उपयोग गर्न सुझाव दिँदै आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरिन् ।
उनले कृत्रिम बौद्धिकता लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक र रचनात्मक रूपमा आत्मसात गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताइन् ।
उनले मदन भण्डारीका विचारहरूलाई समयअनुकूल विकास गर्दै व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक सार्थकता रहने उल्लेख गरिन् ।