काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनमा भूमिगत राजनीति गर्ने महिलाहरूको योगदान अतुलनीय रहेको बताएकी छन्।
११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा उनले इतिहासको कठिन कालखण्डमा महिलाले पुर्याएको बलिदानलाई राज्य र समाजले सधैँ सम्मान गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको योद्धाः भूमिगत महिला’ नामक पुस्तक तथा वृत्तचित्र सार्वजनिक गर्दै भण्डारीले एउटा मार्मिक उदाहरण प्रस्तुत गरिन्। उनले राजनीतिक नेतृत्वलाई मन्दिरको गजुरसँग तुलना गर्दै गजुर जतिसुकै उज्यालो र भव्य देखिए पनि त्यसलाई थामेर राख्ने जग खन्ने हातहरूको पसिना र मेहनतलाई कहिल्यै बिर्सनु नहुने बताइन्।
उनका अनुसार ३० र ४० को दशकमा पञ्चायती निरंकुशता विरुद्ध लड्ने ती भूमिगत महिलाहरू नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जग हुन्।
पूर्वराष्ट्रपति भण्डारीले यस्ता ऐतिहासिक दस्तावेज र वृत्तचित्रको निर्माणले भावी पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढ्न निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
समाजको प्रगतिशील रूपान्तरणका लागि आफ्नो जीवनका सुन्दर वर्षहरू भूमिगत राजनीतिमा समर्पित गर्ने जागरूक महिलाहरूको योगदानलाई अभिलेखीकरण गरेकोमा उनले मोतिदेवी स्मृति केन्द्रलाई धन्यवाद समेत ज्ञापन गरिन्।