'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार: विद्यादेवी भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
1.4k
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन्। आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
स्मृति सभामा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई सङ्गठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन्। राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय भएको र यो सधैँ जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई उनीहरूले अझ गहिरो गरी स्थापित गरेको उनको भनाइ थियो।
भण्डारीले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको 'जबज' लाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको स्पष्ट पारिन्। यस विचारले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई सही दिशा निर्देश गर्दै नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कुरामा समेत उनले विशेष जोड दिइन्।