कांग्रेसको संस्थापन इतर समूह प्रदेशतिर, शनिबार गण्डकी भेला
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
2.8k
Shares
पोखरा। नेपाली कांग्रेसभित्र नेतृत्व, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण भइरहेका बेला संस्थापन इतर समूहले शनिबार पोखरामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ नामक प्रदेश स्तरीय भेला गर्ने भएको छ ।
भेलामा पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति तथा महासमिति सदस्यहरूलाई आमन्त्रण गरिएको छ। यद्यपि उपस्थिति स्वस्फूर्त रहने र कार्यक्रम बन्द सत्रका रूपमा सञ्चालन हुने आयोजकहरूले जनाएका छन् ।
नेताहरूले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा सदस्यता व्यवस्थापनमा देखिएको अन्योल र नेतृत्वबीचको सहमति अभावले पार्टीभित्र विवाद बढाएको छ ।
भेलाको सबै तयारी पूरा भएकाे कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए। भेला विचार, संगठन र आगामी महाधिवेशन केन्द्रित वैचारिक छलफलका लागि आयोजना गरिएको श्रेष्ठले बताए ।
भेला पार्टी फुटाउने उद्देश्य नभई विचार र बहसको संस्कृति जोगाउने प्रयास भएको उनले दाबी गरे । उनका अनुसार पार्टीभित्र नीति, कार्यक्रम र रणनीतिबारे लामो समयदेखि पर्याप्त छलफल हुन नसकेको अवस्थाले यस्तो पहल आवश्यक बनेको हो ।
नेता पुष्प अधिकारीले कांग्रेसमा विचारको प्रतिस्पर्धा र वैचारिक बहसको परम्परा रहेको उल्लेख गर्दै अहिलेको भेला त्यसैको निरन्तरता भएको बताए ।
नेता अधिकारीले वर्तमान सरकारको कार्यशैली, विदेशी प्रभाव र संवेदनशील क्षेत्रमा विदेशी कम्पनीको पहुँच विस्तारजस्ता विषय पनि छलफलको एजेन्डामा रहने बताए ।
कांग्रेसभित्र संस्थापन र इतर समूहबीच देखिँदै आएको टकराव अब प्रदेश तहसम्म संगठित रूपमा देखिन थालेको चर्चा भइरहेको छ ।