नागरिकको ज्यान जोगाउन राष्ट्रिय ट्रमा नीति आवश्यक : सांसद कार्की [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
237
Shares
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा सांसद तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गरी कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक दुर्घटनामा परी नागरिकले अकालमै ज्यान गुमाइरहेको अवस्थालाई सम्बोधन गर्न सरकारले स्पष्ट नीति ल्याउन आवश्यक रहेको बताइन् ।
सांसद कार्कीले सडक निर्माण गर्ने तर नागरिकलाई सडक दुर्घटनाबाट जोगाउन नसक्ने अवस्था रहे सरकार नैतिक र नीतिगत दुवै रूपमा असफल ठहरिने धारणा राखिन् ।
उनले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ । तर आफ्ना नागरिकलाई सडकबाट मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ ।’
उनले अघिल्ला सरकारका कमजोरी दोहोर्याउने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गर्दै जनताले सरकारसँग ठूलो अपेक्षा राखेको बताइन् ।
उनले भनिन्, ‘अघिल्ला सरकारले के गरे, कसो गरे ? कहाँ चुके भन्ने कुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन् । अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन ।’
सांसद कार्कीले कोभिडविरुद्ध खोप अभियान चलाइएझैँ सडक दुर्घटनाबाट जोगाउन नीतिगत ‘खोप’ आवश्यक रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘नेपाली जनतालाई हामीले भन्न सक्नुपर्छ, तपाईँहरूले कोभिडको खोप त लगाउनुभयो । तर दिनहुँ सडकमा भइरहेको अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ, हामी दिन्छौँ ।’
उनले राष्ट्रिय ट्रमा नीति निर्माणको काम तत्काल सुरु गरे भविष्यमा हुने ठूला दुर्घटना र धेरै नागरिकको ज्यान जोगाउन सकिने विश्वास व्यक्त गरिन् ।
सांसद कार्कीले वर्तमान सरकारलाई नागरिकको आशा र भरोसाबाट पन्छिने छुट नरहेको पनि बताइन् ।