arrow

आईपीएल २०२६ 

बैंगलुरूले जित्दा पञ्जाब सङ्कटमा, कोलकातालाई दिल्लीले पुर्‍यायो नोक्सान

बैंगलुरू आईपीएल २०२६ को प्लेअफ र क्वालिफायर-१ मा छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
kohli-25-5-29-rcb.jpg

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरूले आईपीएल २०२६ मा पञ्जाब किंग्सलाई पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। १३ खेलबाट १८ अङ्क जोड्दै बैंगलुरू अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। टोली अब लिग चरणमा शीर्ष दुईबाट बाहिर हुन नसक्ने भएकाले उसको क्वालिफायर-१ खेल्ने तय भइसकेको छ। 

अर्कोतर्फ पञ्जाब किंग्सले लगातार छैटौँ हार बेहोरेको छ, जसका कारण टोलीको नकआउट चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। यस्तै, दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गर्दै अङ्क तालिकामा एक स्थान माथि उक्लिन सफल भई १२ अङ्कका साथ सातौँ स्थानमा पुगेको छ।  प्रतियोगितामा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स अझै पनि प्लेअफको दौडमा कायमै रहेका छन्।

बैंगलुरू १३ खेलमा ९ जित र १८ अङ्कसहित पहिलो स्थानमा छ भने टोलीको नेट रनरेट प्लस १.०६५ छ, जुन यस लिगमा सबैभन्दा उत्कृष्ट हो। बैंगलुरूले अब अधिकतम २० अङ्कसम्म पुग्न सक्नेछ र १८ अङ्क हुँदा पनि बैंगलुरूलाई शीर्ष दुईबाट हटाउन असम्भव जस्तै छ। अङ्क तालिकामा हैदराबाद र गुजरात १८ अङ्कसम्म पुग्न सक्ने भए पनि बैंगलुरूको रनरेटलाई पछि पार्न उनीहरूलाई कठिन हुनेछ।

बैंगलुरूले आफ्नो अन्तिम लिग खेल २२ मेमा सनराइजर्स हैदराबादसँग खेल्नेछ। गुजरात टाइटन्स १६ अङ्कका साथ दोस्रो स्थानमा कायम छ र टोलीको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग रहेको छ, जुन खेल जितेमा गुजरातले शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्नेछ। सनराइजर्स हैदराबाद १४ अङ्कसहित तेस्रो स्थानमा छ र टोलीले अब चेन्नई र बैंगलुरूसँग खेल्न बाँकी रहेकोमा आज चेन्नईलाई पराजित गरेमा हैदराबादले प्लेअफमा आफ्नो स्थिति बलियो बनाउनेछ।

मध्यम स्थानका टोलीहरू बीच तीव्र प्रतिस्पर्धा भइरहेको छ, जहाँ १३ खेलमा १३ अङ्क जोडेको पञ्जाब चौथो स्थानमा रहेको छ र लगातार ६ खेल हारिसकेको पञ्जाबले प्लेअफको आशा जीवितै राख्न लखनऊ विरुद्धको आफ्नो अन्तिम खेल जसरी पनि जित्नुपर्नेछ। १२ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ र चेन्नईले हैदराबाद तथा २१ मेमा गुजरातसँग खेल्न बाँकी रहेकाले प्लेअफको दौडमा रहन दुवै खेल जित्नुपर्ने दबाब छ। त्यस्तै १२ अङ्कका साथ राजस्थान छैटौँ स्थानमा खिस्रिएको छ र टोलीको रनरेट प्लस ०.२७ चेन्नई बराबर छ। राजस्थानले अब लखनऊ र मुम्बईसँग सामना गर्नेछ र शीर्ष चारमा पर्न टोलीले दुवै खेल जित्नुपर्छ।

दिल्लीको जितले कोलकाता नाइट राइडर्सलाई प्रत्यक्ष नोक्सान पुगेको छ र कोलकाता ११ अङ्कका साथ आठौँ स्थानमा पुगेको छ। कोलकाताले अब मुम्बई र दिल्लीसँग खेल्नुपर्नेछ भने प्लेअफ पुग्न कोलकाताले दुवै खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर हुनुपर्नेछ। अर्कोतर्फ, १२ अङ्कका साथ सातौँ स्थानमा रहेको दिल्ली क्यापिटल्सले प्लेअफको यात्रा तय गर्न २४ मेमा कोलकाता विरुद्ध ठूलो अन्तरको जित निकाल्नुपर्नेछ र साथै अन्य टोलीको समीकरण पनि अनुकूल हुनुपर्नेछ।

पञ्जाबमाथि बैंगलुरूको जीत
रोयल च्यालेन्जर्स बैंगलुरूले आइतबार भएको आईपीएल २०२६ को पहिलो खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गरेको छ। धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरूले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल तयार पारेको थियो। २२३ रनको ठूलो लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो।

यस जितसँगै अङ्क तालिकामा १८ अङ्क जोड्दै बैंगलुरू यस सिजनको प्लेअफमा सुरक्षित हुने पहिलो टोली बनेको छ। अर्कोतर्फ, पञ्जाब किंग्सको यो लगातार छैटौँ हार हो, जसले गर्दा उसको नकआउट यात्रा निकै सङ्कटमा परेको छ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब किंग्सको सुरुवात बेहद खराब रह्यो र टोलीले मात्र १९ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो। सुरुवाती झट्कापछि कूपर कोनोली, मार्कस स्टोइनिस र शशांक सिंहले इनिङ्स सम्हाल्दै कडा सङ्घर्ष गरे पनि टोलीलाई जित दिलाउन सकेनन् र पञ्जाब लक्ष्यभन्दा २३ रनले पछि पर्यो। पञ्जाबका लागि शशांक सिंहले २७ बलमा ५६ रनको आक्रामक अर्धशतकीय पारी खेले पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन।

राजस्थानमाथि दिल्लीको जित
दिल्लीले आइतबार भएको आईपीएल २०२६ को दोस्रो खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ। नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९३ रनको बलियो योगफल खडा गरेको थियो। प्रत्युत्तरमा दिल्ली क्यापिटल्सले १९४ रनको लक्ष्य १९.२ ओभरमा मात्र ५ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो।

यस पराजयसँगै राजस्थान रोयल्सले लगातार तेस्रो खेलमा हार बेहोर्नु परेको छ, जसका कारण उसको प्लेअफमा पुग्ने प्रतीक्षा अझ लम्बिएको छ। अर्कोतर्फ, यस महत्वपूर्ण जितसँगै दिल्ली क्यापिटल्सको प्लेअफमा पुग्ने आशा र सम्भावना अझै जीवितै रहेको छ।

दिल्ली क्यापिटल्सलाई जिततर्फ डोर्‍याउन प्रारम्भिक ब्याटरद्वय अभिषेक पोरेल र केएल राहुलले विस्फोटक सुरुवात दिलाएका थिए। केएल राहुलले ४२ बलमा ५६ रन र अभिषेक पोरेलले ३१ बलमा ५१ रनको योगदान दिए। यी दुई खेलाडीले पहिलो विकेटका लागि १०५ रनको सानदार शतकीय साझेदारी गर्दै खेललाई पूर्ण रूपमा दिल्लीको पकडमा ल्याएका थिए, जसले गर्दा दिल्लीलाई अन्तिम ओभरहरूमा लक्ष्य भेट्टाउन सहज भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ