सरकारका कदमले मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्दैछ : प्रदीप ज्ञवाली
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
1.6k
Shares
काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारका गतिविधिहरूका कारण मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको गम्भीर टिप्पणी गरेका छन्। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विशेष विमर्श कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
नेता ज्ञवालीले मुलुकको राष्ट्रिय राजनीति द्रुत गतिमा अप्ठ्यारो मोडतर्फ गइरहेको उल्लेख गर्दै यतिबेला देशलाई एउटा बलियो, लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको सख्त आवश्यकता परेको औँल्याए। नयाँ सरकार बनेको करिब ५० दिन पनि नपुग्दै यसले लोकतान्त्रिक मूल्य-मान्यता र स्थापित संस्थाहरूमाथि गम्भीर प्रश्न उठ्ने काम गरेको उनको आरोप छ। सरकारले संसद्, राष्ट्रपति एवं संवैधानिक आयोगहरूको लगातार अवमूल्यन गरिरहेको भन्दै उनले कडा आपत्ति जनाए।
"नयाँ सरकार बनेको ५० दिन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको छ," नेता ज्ञवालीले भने, "ट्रेड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने कोसिस, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरूमाथिको डोजर आतङ्कले मुलुक निर्वाचित अधिनायकवादतर्फ अघि बढ्न खोजेको स्पष्ट देखिन्छ।" यसका साथै श्रमजीवी वर्गलाई दिइएका सामाजिक सुरक्षाका सुविधाहरू क्रमशः कटौती गर्दै लाने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
संसद्मा नेकपा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर रहेको स्वीकार गर्दै उनले अब लामो सङ्घर्षबाट प्राप्त भएका राजनीतिक उपलब्धिहरू गुम्न नदिनका लागि नागरिक समाज, सञ्चारकर्मी, सामाजिक सङ्घसंस्था र आम जनता बढी सक्रिय हुनुपर्नेमा जोड दिए। संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको लोकतान्त्रिक बाटो तर्जुमा गर्न समयले आज आफूहरूलाई एउटा कठोर अग्निपरीक्षाको सामु उभ्याएको भन्दै उनले सबै पक्षलाई सचेत रहन ध्यानाकर्षण गराए।