arrow

आईपीएल

कोलकाताको प्लेअफ सम्भावना जीवितै, बैंगलुरूलाई अवसर; तीन टोलीलाई जित्नैपर्ने दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३ आइतबार
ipl-delhi-rcb.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको प्लेअफ सम्भावना जीवितै रहेको छ । यता बैंगलुरूलाई नकआउटमा पुग्ने अवसर रहेको छ । साथै तीन टोली पञ्जाब, राजस्थान र दिल्लीलाई हरेक खेल जित्नैपर्ने दबाब रहेको छ ।

६० औँ खेल पार गरिसक्दा प्लेअफको समीकरणमा कोलकाताले आफ्नो अगाडिको यात्रा बलियो बनाएको छ। गुजरात टाइटन्सलाई हराउदै कोलकाताले १२ खेलबाट ११ अङ्क बटुल्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ। 

 यद्यपि प्लेअफको अन्तिम चारमा स्थान सुरक्षित गर्न कोलकातालाई अब आफ्ना बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ भने अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्ने देखिन्छ। कोलकातासँग पराजित भए पनि गुजरात १३ खेलबाट १६ अङ्कका साथ दोस्रो स्थानमा सुरक्षित रहँदै आगामी खेलमा चेन्नईको सामना गर्ने तयारीमा छ।

यसैबीच लिग अन्तर्गत आज आइतबार दुईवटा खेल हुँदैछन्, जसले प्लेअफको परिदृश्यलाई थप स्पष्ट पार्नेछ। पहिलो खेलमा शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरू र चौथो स्थानको पञ्जाब किंग्स आमनेसामने हुँदैछन्। १६ अङ्क र उत्कृष्ट रनरेटसहित तालिकाको पहिलो स्थानमा रहेको बैंगलुरूलाई आजको खेल जितेर प्लेअफमा पुग्ने पहिलो टोली बन्ने अवसर छ। 

लगातार पाँच खेल हारिसकेको पञ्जाबका लागि भने १३ अङ्कको स्थितिमा प्लेअफको दौडमा टिकिरहन आजको खेल जित्नुको विकल्प छैन। बैंगलुरूले अब पञ्जाब र हैदराबादसँग खेल्न बाँकी छ भने पञ्जाबले आजको खेलपछि मे २३ मा लखनऊको सामना गर्नेछ।

आजै हुने दोस्रो खेलमा आठौँ स्थानको दिल्ली क्यापिटल्स र पाँचौँ स्थानको राजस्थान रोयल्स भिड्दैछन्। ११ खेलबाट १२ अङ्क जोडेको राजस्थानलाई प्लेअफमा पुग्न दिल्ली, लखनऊ र मुम्बईसँगका बाँकी तीनै खेल जित्नुपर्ने चुनौती छ। 

अर्कोतर्फ मात्र १० अङ्क रहेको र रनरेट निकै कमजोर भएको दिल्लीका लागि आजको खेल 'गर या मर' को अवस्था जस्तै बनेको छ। आज राजस्थानसँग पराजित भएमा दिल्ली प्लेअफको दौडबाट आधिकारिक रूपमा बाहिरिने पहिलो टोली बन्नेछ।

तालिकाको अन्य टोलीहरूको कुरा गर्दा सनराइजर्स हैदराबाद १२ खेलमा १४ अङ्कका साथ तेस्रो स्थानमा छ र उसले मे १८ मा चेन्नई तथा मे २२ मा बैंगलुरूलाई हराएमा प्लेअफ तय गर्नेछ। 

१२ अङ्कका साथ छैटौँ स्थानमा रहेको चेन्नई सुपर किंग्सले पनि हैदराबाद र गुजरातसँगका बाँकी दुवै खेल जितेर अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था छ। 

उता समान ८-८ अङ्कका साथ तालिकाको नवौँ र दसौँ स्थानमा खुम्चिएका मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भने गणितीय रूपमा प्लेअफको दौडबाट पूर्ण रूपमा बाहिरिइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ