हैदराबादलाई ८२ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा पुग्यो गुजरात
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
394
Shares
काठमाडौँ । आईपीएल २०२६ मा गुजरात टाइटन्सको उत्कृष्ट प्रदर्शन जारी छ। मङ्गलबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
यो जितसँगै गुजरात लगातार पाँचौँ सफलता दर्ता गर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
टस जितेर हैदराबादले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६१ रनको योगदान दिए भने वासिङ्टन सुन्दरले ३३ बलमा ५० रनको विष्फोटक पारी खेले। हैदराबादका तर्फबाट प्रफुल हिंगे र साकिब हुसैनले २–२ विकेट लिए भने कप्तान प्याट कमिन्सले एक विकेट झारे।
१६९ रनको लक्ष्य पछ्याएको सनराइजर्स हैदराबादको पारी निकै कमजोर रह्यो। टोली १४.५ ओभरमा मात्र ८६ रन बनाउँदा अलआउट भयो। हैदराबादका लागि कप्तान प्याट कमिन्सले बनाएको १९ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।
गुजरातको जितमा बलरहरूको भूमिका महत्वपूर्ण रह्यो। कागिसो रबाडा र जेसन होल्डरले ३–३ विकेट लिएर हैदराबादको मध्यक्रम ध्वस्त पारे भने प्रसिद्ध कृष्णाले २ विकेट लिए।
यो जितसँगै गुजरात टाइटन्स १२ खेलबाट ८ जित निकाल्दै १६ अङ्कका साथ पहिलो स्थानमा पुगेको छ। पराजित हैदराबाद भने १४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा झरेको छ।