ट्रम्प भन्छन् - इरान अन्ततः झुक्नेछ, सम्झौता नभएसम्म दबाब जारी रहन्छ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
886
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका कट्टरपन्थी नेताहरू अन्ततः आफ्नो अडानबाट पछि हट्दै सम्झौताको टेबुलमा आउन बाध्य हुने दाबी गरेका छन्। फक्स न्युजसँगको कुराकानीमा उनले इरानसँग कुनै ठोस र निर्णायक सम्झौता नभएसम्म अमेरिकाले आफ्नो कडा नीति र दबाबलाई निरन्तरता दिने स्पष्ट पारेका हुन्।
वार्ताका सम्भावनाका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म आफू उनीहरूविरुद्ध अझै कडा रूपमा प्रस्तुत भइरहने चेतावनी दिँदै इरानलाई वार्तामा ल्याउन 'कडा डिल' गर्ने सङ्केत समेत दिएका छन्।
यता इरानका राष्ट्रपति मसूद पजशकियानले भने क्षेत्रीय तनाव कम गर्न इरानले विभिन्न विकल्पहरूमा विचार गरिरहेको बताएका छन्। उनले इरानको सम्मान र मजबुत स्थितिलाई केन्द्रमा राखेर गरिने वार्तालाई एउटा विकल्पका रूपमा लिन सकिने धारणा राख्दै आएका छन्। यद्यपि दुई देशबीचको शान्ति वार्ता लामो समयदेखि अत्यन्तै जटिल र विवादित मुद्दाहरूमा अल्झिएको देखिन्छ।
विशेष गरी सामरिक महत्त्वको होर्मुज स्ट्रेटमा नियन्त्रणको विषय र इरानी जहाजहरूमाथि अमेरिकाले लगाएको नाकेबन्दीले दुई देशबीचको सम्बन्धलाई थप तिक्त बनाएको छ।
यसबाहेक इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले व्यक्त गर्दै आएको सुरक्षा चासो, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूमा राहतको माग र इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम जस्ता विषयमा दुवै राष्ट्रबीच गम्भीर मतभेद कायम छन्। राष्ट्रपति ट्रम्पको पछिल्लो आक्रामक बयानले तत्कालका लागि इरानमाथिको उच्चतम दबाबको अमेरिकी नीति परिवर्तन नहुने र कूटनीतिक खिचातानी अझै केही समय लम्बिने सङ्केत गरेको छ।