वाशिंगटन डीसी । अमेरिकी सेनाले इरानमाथि फेरि हवाई आक्रमण थालेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले यो कारबाही इरानले हर्मुजको जलमार्ग नजिकै अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा भएको बताएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गस्ती गरिरहेको अमेरिकी एएच-६४ अपाचे हेलिकप्टर खसालेको दाबी गरेका थिए । यद्यपि उनले दुवै पाइलट सुरक्षित रहेको बताएका थिए । ट्रम्पले लेखेका थिए, "अमेरिकाले यस आक्रमणको जवाफ दिनुपर्छ।"
यसैबीच इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बदलामा बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा र अमेरिकी नौसेनाको पाँचौँ फ्लिट मुख्यालयलाई ड्रोनले निशाना बनाएको दाबी गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाले कुनै पनि आक्रमणको जवाफ दिने बताए । उनले अमेरिकालाई चेतावनी दिए, "यदि तपाईं सुरक्षित रहन चाहनुहुन्छ भने, हाम्रो क्षेत्र छोड्नुहोस् ।"
यद्यपि हेलिकप्टर दुर्घटनाको बारेमा फरक-फरक विवरणहरू छन् । एक अमेरिकी अधिकारीका अनुसार अपाचे हेलिकप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । घटनाको अनुसन्धान भइरहेको छ ।