arrow

अमेरिकी संसदमा ट्रम्पलाई धक्का: इरानसँगको युद्ध रोक्न रिपब्लिकन सांसदहरूद्वारा नै विपक्षीलाई साथ!

हाउस अफ रिप्रिजेन्टेटिभ्सले इरानविरुद्ध सैन्य कारबाही जारी राख्ने ट्रम्पको अधिकारलाई सीमित गर्ने पक्षमा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
trump-pressmeet.jpg

काठमाडौँ । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ (प्रतिनिधि सभा) ले इरानविरुद्ध सैन्य कारबाही जारी राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सीमित गर्ने पक्षमा मतदान गरेको छ । इरानसँगको सैन्य द्वन्द्व बढ्दै जाँदा कङ्ग्रेसको भूमिकालाई स्थापित गर्न विपक्षी डेमोक्र्याटहरूले ल्याएको प्रस्तावलाई तल्लो सदनले पारित गरेको हो ।

रोचक कुरा त, यो मतदानमा राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीका चार जना सांसदहरूले समेत दलीय लाइनभन्दा बाहिर गएर विपक्षी डेमोक्र्याटहरूलाई साथ दिएका थिए । कुल २१५–२०८ मतको झिनो अन्तरले पारित भएको उक्त प्रस्तावले कङ्ग्रेसको स्पष्ट र थप अनुमतिबिना इरानविरुद्धको युद्धबाट अमेरिकी सेना फिर्ता गर्न राष्ट्रपति ट्रम्पलाई निर्देशन दिएको छ ।

अमेरिकी कङ्ग्रेसमा राष्ट्रपति ट्रम्पको सैन्य अधिकार कटौती गर्ने यो पहिलो प्रयास भने होइन । यसअघि प्रतिनिधि सभामा तीन पटक र माथिल्लो सदन सिनेटमा सात पटक यस्तै प्रकृतिका सैन्य शक्ति सीमित गर्ने प्रस्तावहरू ल्याइए पनि ती संसद्को गणितका कारण झिनो मतान्तरले विफल भएका थिए ।

लामो कूटनीतिक र राजनीतिक खिचातानीपछि हाल तल्लो सदनबाट यो प्रस्ताव पारित भए पनि यसको भविष्य अझै सुनिश्चित छैन । यो प्रस्ताव दुवै सदन (प्रतिनिधि सभा र सिनेट) बाट पूर्ण रूपमा अनुमोदन भएर गए पनि राष्ट्रपति ट्रम्पले आफ्नो विशेष संवैधानिक अधिकार (भिटो) प्रयोग गरी यसलाई खारेज गर्न सक्ने प्रबल सम्भावना रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

इरानसँगको द्वन्द्व सुरु हुँदाका बखत आफ्नै रिपब्लिकन पार्टीको पूर्ण र बलियो समर्थन पाएका राष्ट्रपति ट्रम्पलाई अहिले आएर युद्धको कुनै निश्चित अन्त्य (एक्जिट स्ट्राटेजी) नदेखिएपछि आफ्नै दलका सांसदहरूले समेत चुनौती दिन थालेका छन् ।

विशेष गरी आसन्न मध्यावधि निर्वाचन (मिडटर्म इलेक्सन) नजिकिँदै गर्दा युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढिरहेको छ । इन्धनको यो मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुने निर्वाचनमा पार्टीको चुनावी नतिजा गम्भीर रूपमा प्रभावित हुन सक्ने भन्दै रिपब्लिकन सांसदहरूभित्र आन्तरिक चिन्ता र असन्तोष चुलिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ