कुनै पनि अमेरिकी हमलाको सशक्त जवाफ दिने इरानको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
490
Shares
काठमाडौँ । अमेरिकी सैन्य कारबाहीको प्रतिक्रियास्वरूप इरानले आफूमाथि हुने कुनै पनि आक्रमण वा धम्कीको कडा र जवाफविहीन नराख्ने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम युद्ध तयारी अवस्थामा रहेको जनाउँदै अमेरिकालाई मध्यपूर्व क्षेत्र छाड्न आग्रह गरेका छन्।
विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत बुधबार प्रतिक्रिया दिँदै इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई सहन नगर्ने स्पष्ट पारेका हुन्। उनले क्षेत्रलाई सुरक्षित राख्न चाहने हो भने विदेशी शक्तिहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन्।
यो चेतावनी अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य लक्ष्यहरूविरुद्ध ‘रक्षात्मक आक्रमण’ गरेको घोषणा गरेपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको उक्त कारबाही अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप भएको अमेरिकी पक्षले जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज जलमार्ग आसपास रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनाहरूलाई लक्षित गरी यो आक्रमण गरिएको थियो। सेन्टकमले अमेरिकी समयअनुसार मङ्गलबार साँझ ५ बजे सुरु भएको सैन्य कारबाही बुधबार सम्पन्न भएको पुष्टि गरेको छ।
यसअघि मङ्गलवार इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सशस्त्र बललाई उच्चतम युद्ध तथा प्रतिरक्षा तयारी अवस्थामा राखिएको जानकारी दिएका थिए। उनले आवश्यक क्षतिहरूको मर्मतसमेत पूरा भइसकेको र कुनै पनि आक्रमणको उच्चस्तरीय जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका थिए।
इरानको रक्षा मन्त्रालयले पनि देशको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सैन्य उपकरण, हतियार र रक्षा प्रणालीको उत्पादन थप बढाइने जनाएको छ। मन्त्रालयले प्रतिरोधात्मक क्षमता अझ सुदृढ बनाइने र कुनै पनि शत्रुलाई इरानको सुरक्षामा सामान्य क्षति पुर्याउनसमेत नदिने स्पष्ट पारेको छ। यसैबिच, बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तका सिरिक बन्दरगाह, मिनाब र केसिएम (Qeshm) टापु क्षेत्रमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उता इराकस्थित एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाश प्रयोग गर्दै अमेरिकी लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी छ।
यसैबिच, इजरायली सेनाका प्रमुख एयाल जमिरले इजरायली सेना जुनसुकै बेला इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको र आफ्ना सबै प्रतिरक्षा तथा आक्रमण प्रणालीलाई उच्च सतर्कतामा राखिएको बताएका छन्। अमेरिकी र इजरायली सैन्य दबाबबिच इरानले लिएको यो कडा रणनीतिले मध्यपूर्वको सुरक्षा वातावरण थप जटिल मोडमा पुगेको सङ्केत गर्दछ।