डिजिटल स्वास्थ्यदेखि महामारी नियन्त्रणसम्मको योजना
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
392
Shares
काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने बताए। नागरिकलाई लागत प्रभावी र गुणस्तरीय सेवा दिन सबै स्थानीय तहमा आधारभूत अस्पतालको पहुँच सुनिश्चित गर्ने सरकारको लक्ष्य छ।
दुर्गम क्षेत्रका नागरिकका लागि 'टेलिहेल्थ' मार्फत विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ। रोगको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन 'सेन्टर फर डिजिटल कन्ट्रोल' स्थापना गरिने र स्वास्थ्य सेवाको गुणस्तर मापन गर्न 'राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण' गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सङ्घीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढाउन 'राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला' स्थापना गरिने भएको छ। क्यान्सर जस्ता नसर्ने रोगको हकमा उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैली परिवर्तनको रणनीतिलाई सरकारले प्राथमिकतामा राखेको छ।
मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्ग मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिने र समुदायमा आधारित योग तथा ध्यान कार्यक्रमको विस्तार गरिनेछ। यसैगरी, सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सङ्ख्या तथा सेवाको दायरा बढाइनेछ।
अपाङ्गता भएका नागरिकका लागि अत्याधुनिक पुनःस्थापना केन्द्र स्थापना गरिने भएको छ। विशेष गरी बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सहायक प्रविधिसहितका विशेष कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता सरकारले जनाएको छ।