काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले नापी र मालपोत सेवालाई एकीकृत गरी स्थानीय तहसम्म विस्तार गर्ने योजना अघि बढाएको बताएका छन्।
सोमवार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने जानकारी दिए।
उनले आधुनिक प्रविधिको प्रयोगमार्फत भूमिको नाप-नक्सा तयार गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइने बताए।
राष्ट्रपति पौडेलका अनुसार भूमिको स्वामित्व र उपयोगबीच सन्तुलन कायम गर्दै असुरक्षित स्थानमा बसोबास गरिरहेका भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सुरक्षित बसोबासको व्यवस्था गरिनेछ।