arrow

आईपीएल

मुम्बईको प्लेअफ यात्रा समाप्त : बैंगलुरू शीर्ष स्थानमा, आज जिते पन्जाबलाई मौका

मुम्बईलाई २ विकेटले पराजित गर्दै बैंगलुरू अङ्क तालिकामा शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
rohit-sharma-mumbai-2025yy.jpg
मुम्बई इन्डियन्स

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति रायपुरस्थित सहिद वीर नारायण सिंह स्टेडियममा भएको रोमान्चक खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै बैंगलुरूले महत्वपूर्ण सफलता हात पारेको हो। यो हारसँगै पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स जारी सिजनको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिएको छ।

खेलमा टस जितेर फिल्डिङ रोजेको बैंगलुरूले मुम्बईलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रनमा रोकेको थियो। १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरूले अन्तिम बलमा ८ विकेट गुमाउँदै जित सुनिश्चित गर्‍यो। खेलको अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेका बेला स्ट्राइकमा रहेका रसिख सलामले सिधा सट प्रहार गर्दै तीब्र गतिमा २ रन पूरा गरेका थिए। मुम्बईले रन आउटको अपिल गरे तापनि थर्ड अम्पायरले बैंगलुरूको पक्षमा निर्णय दिएपछि खेलको नतिजा तय भएको थियो।

अङ्क तालिकाको समीकरण अनुसार ११ खेलमा ७ जित र ४ हारका साथ १४ अङ्क जोड्दै बैंगलुरू पहिलो स्थानमा पुगेको छ। समान १४ अङ्क नै रहेका हैदराबाद र गुजरातलाई बैंगलुरूले नेट रन रेटका आधारमा पछि पारेको हो। अर्कोतर्फ सूर्यकुमार यादवको कप्तानीमा रहेको मुम्बई ११ खेलमध्ये ८ मा पराजित हुँदै ६ अङ्कका साथ तालिकाको नवौँ स्थानमा खुम्चिएको छ। अब आफ्ना बाँकी सबै खेल जिते पनि मुम्बईको अधिकतम १२ अङ्क मात्र पुग्नेछ, जुन प्लेअफ पुग्नका लागि गणितीय रूपमा अपर्याप्त छ।

प्रतियोगिताको अन्य समीकरणमा १० खेलमा १३ अङ्क जोडेको पन्जाब किंग्सले आजको खेलमा दिल्लीलाई पराजित गरेमा शीर्ष स्थानमा उक्लने मौका पाएको छ। यता ११ खेलमा ८ अङ्क मात्र रहेको दिल्ली क्यापिटल्सका लागि आजको हारले प्लेअफको सम्भावनालाई लगभग समाप्त गरिदिने देखिन्छ। यस सिजनको ब्याटिङतर्फ सनराइजर्स हैदराबादका हेनरिक क्लासेन ४९४ रनका साथ शीर्ष स्थानमा छन् भने अभिषेक शर्मा दोस्रो र दिल्लीका केएल राहुल तेस्रो स्थानमा रहेका छन्। लगातार दुई हारपछि जितको लयमा फर्किएको बैंगलुरूको प्रदर्शनले उपाधि होडलाई थप रोचक बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ