काठमाडौँ । लखनउ इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिएको छ। आइतबार भएको पहिलो खेलमा चेन्नईले लखनउलाई ५ विकेटले पराजित गरेपछि लखनउको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको हो।
यो हारसँगै लखनउले आफ्ना बाँकी खेलहरू जिते पनि अधिकतम १२ अङ्कसम्म मात्र पुग्न सक्छ, जुन प्लेअफका लागि पर्याप्त छैन।
चेपौक स्टेडियममा भएको खेलमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको बलियो योगफल खडा गरेको थियो। जवाफमा चेन्नईले २०४ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ओभरमा शिवम दुबेले एडन मार्करमको बलमा लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जिताए।
चेन्नईको जितमा उर्विल पटेल नायक बने। उनले ३३ बलमा ६५ रनको विष्फोटक पारी खेले। यस क्रममा उनले मात्र १३ बलमा अर्धशतक प्रहार गर्दै आईपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउने यशस्वी जायसवालको रेकर्डसँग बराबरी गरे। जायसवालले सन् २०२३ मा १३ बलमा अर्धशतक बनाएका थिए।
चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४२, सन्जु सामसनले २८ र कार्तिक त्यागीले २० रनको योगदान दिए। लखनउका तर्फबाट बलिङमा दिग्वेश राठी र शहबाज अहमदले २–२ विकेट लिए भने आवेश खानको नाममा १ विकेट रह्यो।
यसअघि ब्याटिङ गरेको लखनउका लागि जोश इंग्लिसले आक्रामक ब्याटिङ गर्दै ८५ रन बनाएका थिए। उनले ३३ बलको पारीमा १० चौका र ६ छक्का प्रहार गरे। अन्त्यमा शहबाज अहमदले अविजित ४३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।